मंसिर महिनाको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी नेपालमा मनाइने एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा बत्ती बाली सतबिज (सद्मी) छरेर मनाइन्छ । सनातन हिन्दू धर्मसंस्कृति अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीजारोपण पर्व पनि भनिन्छ । यो पर्व विशेष गरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।
मार्गकृष्ण त्रयोदशीको साँझमा पशुपतिनाथ लगायत पाशुपतक्षेत्रमा तथा अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभर जाग्राम बसी भोलिपल्ट अर्थात चतुर्दशीको दिन शतबीजारोपण गरिन्छ । बोली चालीको भाषामा सदबीउ छर्ने भनिने शतवीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसै कारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपति परिसरमा आइपुग्छन् । पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमाद्रि ले भनेका छन्-
सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत्मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।
नेपालीमा शतको अर्थ सय र बीजको अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरि बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ ।
आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन कोटीलिङ्ग कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ । प्रचलन अनुसार मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरी गीत गाएर रात बिताउँछन । सुरूमा सप्तबीज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुन छर्दै मृगस्थलीमा रहेका गणेश नजिकआइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्दछन् ।
हिमवत्खण्ड पुराणमा देवताहरूद्वारा वन्दना गरिएको श्लेषमान्तक वनमा भगवान शिव मृगरूप भएर जहाँजहाँ घुमे, खानेकुरा खाए र विहार गरे ती सबै ठाउँ पुण्य क्षेत्र हुन भनिएको पाइन्छ । शिवले मार्ग कृष्ण चतुर्दशी तिथिकै दिनमा मृगरूप लिएको हुँदा सो तिथिमा उक्त क्षेत्रमा अन्न छर्नुपर्ने तथा सो छरिएको हरेक अन्नबाट एकएक रती सन छरे बराबरको फल प्राप्त हुने उल्लेख गरिएको छ । यसबाट अश्वमेध यज्ञ गरे बराबर फल पाइने करा पनि यसै पुराणमा चर्चा गरिएको पाइन्छ । यसरी श्लेषमान्तक वन तथा वरपरका क्षेत्रको ठूलो महिमा भएको हुँदा उक्त स्थानमा सतवीज छर्ने परम्परा बसेको मान्यता छ ।
तीर्थलाल नघस्भनीले विभिन्न श्रोतलाई आधार मानी खुलाएको किम्बदन्ती अनुसार मार्ग कृष्ण चतुर्दशीको दिन पशुपति महादेवलाइ मुकुट पहिर्याई , श्री विधा बाला त्रिपुरा सुन्दरीको पुजा गर्ने भएकोले उही बाला त्रिपुरदेवीको नामबाट बालाचतुर्दशी भनिएको हो । त्यसैगरी यस दिनमा भगवान शिवले चल्लाको रुपमा श्लेषमान्तक बनमा चरिरहेको अवस्थामा ब्रह्मा, बिष्णु र इन्द्रले उहाँलाई चिनेर समात्नु भएको थियो । त्यसै अवसरमा भगवान शिवले यस दिन पाशुपत क्षेत्रमा सतबिज छर्ने परिक्रमा गर्नले एउटा धान बराबर सुन दान गरेको पुण्य पाउने बताउनु भएको भन्ने धार्मिक विश्वास रहिआएको छ भनी खुलाउनु भएको छ ।
बालाचतुर्दशी पर्वको सुरुआतका सम्बन्धमा पशुपतिनाथ भेगमा एउटा किंवदन्ती प्रचलित छ जसअनुसार विगतमा पाशुपत क्षेत्रमा बसोबास गर्ने भण्डारी र वैद्यलगायत अन्य जातिहरूको दाहसंस्कार पशुपतिनाथ वाग्मती किनारास्थित भष्मेश्वर घाटमा गरिंदो रहेछ । त्यसका लागि शव पोल्ने काम भने सोही क्षेत्रको एकजना वैश्य जातका व्यक्तिले गर्दा रहेछन । कुनै दिन लास पोल्ने काम गर्दा लासको गिदी उछिट्टिएर ती लास पोल्ने मानिसको मुखमा परेछ । त्यसलाई उसले निकै स्वादिष्ट भएको महसुस गरेछ । त्यसपछि उसले पोलिएको लासको गिदी खान थालेछ । समय बित्दै जाँदा त्यस व्यक्तिले लास मात्र नभई मानिसको पोलिएको मासु पनि खान थालेछ । तसर्थ ऊ आफ्नो घर छाडेर नजिकैको जङ्गलमा गई लुकेर बस्न वालेछ र त्यस भेगमा हिँड्ने मानिसहरूलाई पक्रिएर तिनको मासु खान थालेछ । यसबाट उसका हात एवम् गोडाका नङ्ग बढ्नुका साथै कपाल नकाटेकाले लट्टा परेछ । तसर्थ ऊ निकै डरलाग्दो भएछ र उसलाई मानिसहरूले बाला दैत्य भन्न लागेछन् ।
बाला दैत्य भने जङ्गलमा लुकेर बसी गुह्येश्वरी तथा पशुपतिनाथको मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरूलाई एक्लै पारी मार्ने तथा खाने गर्न थालेछ । त्यसका एकजना मित भने यसै क्षेत्रमा बसोबास गर्ने महानन्द थरका व्यक्ति रहेछन् । बालादैत्यले फैलाएको लोक भयकोनिराकरणका निम्ति उसका मितले एउटा जुक्ति लगाएछन् । यसका लागि तिनले मार्गकृष्ण चतुर्दशीको दिन पाशुपत क्षेत्रमा सतबिज छर्नेहरुको अत्यन्त भीड भएको समय पारी विभिन्न प्रकारमा स्वादिष्ट मासुका व्यञ्जन तयार पारेछन । त्यसपछि तिनले उक्त व्यञ्जन खर्पनमा राखेर लगेछन र बालादैत्य आउने जङ्गलको बाटो ढुकेर बसेछन । रात्रिका समयमा बालादैत्य बाटोमा निस्किएपछि ती महानन्द ले बालादैत्यलाई उसका दारी र कपाल काट्नका लागि फकाएछन । उनले बालादैत्यलाई सफासुग्घर गरेर लगेको व्यञ्जन खुवाउने कुरा पनि गरेछन् ।
यसै क्रममा तिनले बालादैत्यको कपाल र दारी काट्ने निहुँमा घाँटी रेटेर मारिदिएछन भन्ने किंवदन्ती पाइन्छ । यसरी बाला दैत्यलाई मारेको हुँदा पनि उक्त तिथिलाई बाला चतुर्दर्शी भन्ने गरिएको किंवदन्ती पाइन्छ । त्यसपछि तत्कालीन बालादैत्यलाई मारी लोकको उद्वार गरेको खुसीमा जमिन दिई बालादैत्य गुठी राखि दिएछन । यसरी बालादैत्यको अन्त्य भएको खुसीयालीमा हाल पनि बालादैत्य गुठीका तर्फबाट बालाचतुर्दशीका दिन भोज खाने चलन छ ।
भगवान शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ बागमती किनारको मृगस्थलीमा भगवान शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ यसैगरी पशुपतिको मुर्दाघरमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मुर्दाको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको र उक्त गिदी सगै च्युरा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्केको तथा यस्तै आचरण तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाह अनुसार स्थानीय बासिन्दाले बालासुरको मित बृषसिंह मार्फत उसलाई मार्न लगाएको अर्को किम्वदन्ती पनि छ ।
आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
नेवार सम्प्रदायले पनि यस दिन आफ्नो मृत परिवारजनको आत्माको चिरशान्तिको लागि पशुपतिको श्लेषमान्तक बनमा सतबिज छर्ने र परिक्रमा पश्चात आफुले लगेको खानेकुरा जुठो गर्ने , चिपं थीगु चलन छ । यस परमपरा नेवार समुदायले बालु वोनेगु र वा लू वोनेगु भन्ने गरिन्छ । आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन भन्ने विश्वास रहेको छ । पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठुलो पुण्य मिल्छ भन्ने पुराणमा बताइएको छ ।
भगवान शिवले पनि आफ्नो बालककालमा शतबीज छरेकोले यस दिनको नाम बालाचतुर्दशी रहेको हो भन्ने कुराको उल्लेख पनि गरिएको छ । यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बालाचतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ । मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरै वर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन्। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाए र बगाए पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्छन् ।
लगातार तीन वर्षसम्म बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा साङ्गेको रूपमा चतुर्थीकृत्य सम्पादन गर्दछन्। पहिलो र दोस्रो वर्ष बत्ती बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन्। कैलाशमा बसेर दहीच्युरा खानाले भगवान शिव खुशी हुन्छन भन्ने जनविश्वास रहेको छ तर पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती बगाउछन्। । यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गरेको पशुपतिमा लाग्ने यी दुई धर्मावलम्बीहरूको भीडबाट प्रष्ट हुन्छ यसरी बालाचतुर्दशी वा शतबीज रोपण पर्वको मुख्य सन्देश के हो भने हामीले आफू बाँचेको समाजलाई मात्र नहेरी दिवंगत भएका पितृहरूको पनि सम्झना गर्नुपर्दछ यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ श्रुति, स्मृति र पुराणहरूमा देवता रिझाउनभन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुसी भए परिवारमा सुखसमृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुराको उल्लेख गरिएकोले पनि यस पर्वको महत्त्व प्रष्ट हुन्छ ।
यसरी शतबिज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुन र मकैलाई मात्र लिइने गरेको पाइन्छ यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठुलो भीड लाग्छ ।
आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउमा सतबीज छरिन्छ प्रचलन अनुसार मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउछन । सुरूमा सप्तबीज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुना छर्दै मृगस्थलीमा रहेका गणेश नजिकआइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठुलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश र्याउन अनुरोध गर्दछन्।
त्रयोदशीकै दिन पशुपतिनाथको मूल ढुकुटीमा मूलभट्टको आदेश लिई मूलभण्डारी र बिसेट नाइके गई ढुकुटी या भण्डारमा राखिएका नागमणि, एकमुखे रुद्राक्ष तथा इन्द्र कवच भगवान पशुपतिनाथलाई लगाउने चाँदीको पोसाक जस्ता बहुमूल्य वस्तुहरू निकाल्ने परम्परा रहेको छ । त्यस दिन ढुकुटी खोल्ने साँचोहरू गुठी संस्थान, पशुपति गुठी गोश्वरा तथा अर्को भण्डार तहबिलका जिम्मामा राखिएको हुन्छ । तीनवटै साँचो विना सो ढुकुटी खोल्न सकिदैन । ढुकुटीभित्रै गई सामान निकाल्ने अधिकार भने मूल भण्डरीको मात्र रहने गर्दछ।
भक्तहरूले पशुपतिनाथका नाममा चढाएका बहुमूल्य सुन चँदी आदि वस्तु पशुपति क्षेत्र विकास कोष तथा पशुपति भण्डारतहबिलको जिम्मामा सुरक्षित राख्ने गरिन्छ काठमाण्डौं शीत प्रदेश भएको हुदा बालाचर्तुदशीको दिनदेखि चैत्र कृष्ण चर्तुदशीसम्म करिब चार महिना पशुपतिनाथलाई तातोपानीले स्नान गराउने चलन छ । देवतालाई स्नान गराउनका लागि मन्दिरको पूर्वमा अवस्थित रूक्मणि, सत्यभामासहितको कृष्ण बशिंधर मन्दिरनजिक अवस्थित एउटा सानो घरमा पानी तताउने गरिएको देखिन्छ ।
सतबिज छर्ने परम्परागत मार्ग-
(१) पचं गणेश (२) अनन्त नारायण (३) मृगेश्वर (४) बत्सलेश्वरी (५) नबदुर्गा (६) दक्षिण ढोका बाट पशुपतिनाथ मन्दिर प्रबेश (७) चौसट्ठी कोटि लिङ्घेश्वर (८) पशुपति मन्दिर प्राङ्घण (९) बासुकी मन्दिर हुदै कैलाश (१०) गौरी तिर्थ (११) किरातेश्वर (१२) गुह्येश्वरी (१३) श्लेसमन्तक बन (१४) बिश्वरुप (१५) बहिरो गणेश (१६) नमोबुद्ध (१७) मुगस्थली (१८) भागल भगल महादेव ।
(पाशुपत क्षेत्रसँग सम्बद्ध अनेकौं विषयका अध्येता वरुण खतिवडा पशुपतिकै दक्षिणामूर्ति- ८ मा बस्छन् ।)