संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखला जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त गरेको जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले जित निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे ।
एक सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा १ बलमा ४ विकेट गुमाउँदै निर्धारित लक्ष पार गरेको थियो । नेपालको जितमा दुई खेलाडीले अर्धसतक बनाए । आसिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए ।
आसिफले ११९ बलमा दश चौका प्रहार गरेका थिए । यसैगरी पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का सहति ६४ रन बनाए ।
युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले उकासेका थिए । दुबैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युइए सम्मानजनक स्कोरमा पुगेको थियो ।
आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए । बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन बनाए । यसैगरी अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडेका थिए ।
नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए ।
यस सअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपाल बराबर गर्न सफल भएको थियो ।