चितवन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
इकाइका प्रमुख भूमिलाल सुवेदीका अनुसार चितवनमा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत छन् । उनले भने, “एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाई अध्ययन अध्यापन सुरु गर्ने तयारीमा छौ ।” एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको उनले बताए ।
स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र इकाइको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा पर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिइएको छ । साथै मास्क र फेस शिल्ड भने विद्यार्थी आफैले व्यवस्था गर्नुपर्ने उनले बताए ।
भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बूँदे मापदण्ड तयार पारिएको छ । मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ कक्षासम्म मात्रै भौतिक रुपमा पठन-पाठन सञ्चालन गरिने छ। त्यसपछि एक हप्ताको अवस्था हेरी त्यसका आधारमा कक्षा ६ देखि ८ सम्म र त्यसको १ हप्तापछि मात्रै बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः सञ्चालन गर्दैजाने जनाइएको छ ।
उनका अनुसार एक एक हप्ताको फरकमा अवस्था हेरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको हो । विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरी आलोपालो वा शिफ्टमा कक्षा सञ्चालन गरिने पनि उनले जानकारी दिए । एउटा कक्षा/सिफ्ट/समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रिने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ ।
ज्वारो आउने, जिउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।
भरतपुर महानगरमा सामुदायिक र संस्थागत गरी २२० विद्यालय छन् । ती विद्यालयहरूमा ८८ हजार ७६५ विद्यार्थी अध्ययनरत रहेको पौडेलले जानकारी दिए । चितवनमा रहेका सातवटै पालिकाले विद्यालय सञ्चालनका लागि मापदण्ड तयार गरेका छन् । (रासस)