पोखरा । मिर्गौला सम्बन्धी समस्या दिनानुदिन बढ्दै गइरहेको विषयमा पोखरामा सचेतनामूलक कार्यक्रम गरिएको छ । नेलम्बो नेपाल र मिर्गौला पीडित सरोकार समाज कास्कीको संयुक्त आयोजनामा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
मिर्गौला रोग लाग्नुका कारण, मिर्गौला रोग लाग्नबाट कसरी बच्ने, मिर्गौला रोग लागेमा कसरी उपचार गर्ने, डाइलासिस गर्दा अपनाउनुपर्ने कुराहरु, मिर्गौला प्रत्यारोपण गर्दा हुने सम्भावना र चुनौति, प्रत्यारोपण गर्दा लाग्ने खर्च र विधि, नेपाल सरकारबाट पाउने सुविधाहरुको वारेमा जानकारी प्रदान गरियो ।
उक्त सचेतनामूलक कार्यक्रममा नवीन माध्यमिक विद्यालय पोखरा-४ गैह्रापाटन सृजनशील महिला समूह गणेश टोल, जनहित महिला समूह पोखरा-४ कालीमाटी सर्वेश्वर नारी समूह, गैह्रापाटन समाज सेवा समिति, चिप्लेढुङ्गा मिसः पुचा रामकृष्ण टोल, नेपाल आर्दश महिला समूह पोखरा-४ गरी १०४ जनाको उपस्थितिमा मिर्गौला समस्याको बहस चलाइएको हो ।
पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा पराजुलीले समाजमा विभिन्न रोगसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमको खाँचो रहेको र त्यस्ता कार्यक्रमले नागरिक सचेतना हुने र समाजमा भौतिक विकास मात्र नभई बौद्धिक विकासको पनि जरुरी रहेको बताए ।
उक्त कार्यक्रममा नेलम्बो नेपालका उपाध्यक्ष सरोज कोइरालाले रोग लाग्नु भन्दा लाग्न नदिनु उत्तम हुने भएको हुँदा नेलम्बो नेपालले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे । उनले दीर्घ रोगको पहिचान र त्यस सँग सम्बन्धित सचेतनामूलक कार्यक्रम संस्थाको उद्देश्य भित्र रहेको जानकारी गराए ।
त्यसैगरी संस्थाका फण्डिङ्ग एण्ड पार्टनरसीप संयोजक डा. किसन कोइरालाले संस्थाले गरेका गतिविधि अवगत गराएका थिए । उक्त कार्यक्रममा विगत करिब ३२ वर्ष देखि मृगौला रोग पडित र हाल नियमित डाइलासिस् गराइरहेका मिर्गौला विरामी उपेन्द्रराज गौतमले मिर्गौला रोग लागेपछि त्यसले पार्ने प्रभाव, सामाजिक रुपमा त्यसको मनोवैज्ञानिक असर, डालासिस गराउँदाका जोखिम, त्यसको आर्थिक खर्चको वारेमा जानकारी दिए । भड्किलो जीवन शैली, खानपान जस्ता कुराहरुले मिर्गौलालाई दैनिकजसो असर पार्दै गइरहेको पनि उनले बताए ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मृगौला रोग विशेषज्ञ वरिष्ठ डा. अमृत के.सी, मिर्गौला प्रत्यारोपण गरेका प्रदीप गुरुङ्ग, मिर्गौला रोग पीडित सरोकार समाज कास्कीका अध्यक्ष संजय कुमार रानाभाटले मिर्गौला रोगले महामारीको रुप लिँदै गएको बताएका थिए ।