दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो । यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथा ढाका पसलकी सञ्चालक शोभा दाहालले बताइन् । कोरोनाले विगतका वर्षमा व्यापार ठप्प रहे पनि यस वर्ष कोरोना कम भएकाले र तेह्रथुमलाई ढाकाको राजधानी घोषणा भएसँगै ढाकाको व्यापार सोचेभन्दा बढी भएको दाहालले बताइन् ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि उपहारस्वरूप ढाकाका सामग्री दिने चलन बढेपछि ढाका कपडाको कारोबार उच्च भएको हो । जिल्लामा सञ्चालन भइरहेका साना–ठूला गरी करिब तीन दर्जन ढाका कपडा उद्योग र व्यपारीले दसैँ तिहारको अवसरमा रु एक लाखदेखि १० लाखसम्मको कारोबार गरेका छन् । मायाको चिनो र व्यक्तिगत प्रयोगमा ग्राहकको ढाकाप्रतिको मोह बढेपछि कपडाको बिक्री बढेकाले यो वर्ष रु पाँच लाखभन्दा बढीको बिक्री गरेको उज्ज्वलता ढाका कपडा उद्योगका सञ्चालक उज्ज्वलता सुब्बाले बताइन् ।
यस वर्ष धरान, विराटनगर, पोखरा, काठमाडौँ र हङकङबाट माग बढी भएकाले ढाकाका कपडाको कारोबार उच्च भएको सुब्बाले बताइन् । दसैँ तिहारमा ढाकाको टोपी र पछ्यौराको बिक्री धेरै भएको छ । एउटा टोपी रु पाँच सयदेखि २५ हजार सम्ममा बिक्री भएको छ । यसैगरी एउटा पछ्यौरा रु एक हजारदेखि पाँच हजारसम्ममा बिक्री भएको छ । जिल्लाका ढाका उद्योगले टोपी पछ्यौरा, सर्ट, टाई, रुमाल, चौबन्दी, टोपी, ब्लाउज, साडी, तन्ना, पर्दा, फेटा, थैली, झोला, पर्स, गलबन्दी, सलवार, चोलो, जुत्ता, चपल, बेल्टलगायत आकर्षक सामग्री उत्पादन गर्ने गरेका छन् ।