नेपालले ग्रीष्मकालीन आधुनिक ओलम्पिक खेलकुद प्रतियोगितामा भाग लिन थालेको लगभग ६ दशक हुन लाग्यो । सन् १९६४ को टोकियो ओलम्पिकबाट यात्रा सुरु गरेको नेपाल सन् २०२१ को टोकियो ओलम्पिकसम्म आइपुग्दा उपलब्धि भने शून्यमै सीमित छ । ओलम्पिक जस्तो उच्चस्तरको प्रतिस्पर्धाको लागि खेलाडी तयार गर्न नेपालमा खेलकुद पूर्वाधारकै अभाव छ । कमजोर खेलकुद पूर्वाधारले गर्दा आवधिक रूपमा हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता समेत प्रभावित हुने गरेको छ ।
ओलम्पिकमा पदकको चाहना गर्नु राम्रो हो, तर त्यसको लागि त्यही अनुरूपको लगानी गरिनु पर्ने माग खेलाडीहरूको रहँदै आएको छ । यहाँ लगानी भन्नाले समग्र खेलकुदको भौतिक लगायत अन्य पूर्वाधारको विकासमा सरकारले गर्ने खर्च हो । खेलकुद पूर्वाधारको विकासमा पंचायतकालीन सरकारका साथै २०४६ सालपछिका बहुदलीय सरकार पनि गम्भीर भएनन् । समुचित खेलकुद पूर्वाधारको अभावमा ओलम्पिकजस्तो उच्चस्तरको प्रतिस्पर्धात्मक खेलको लागि खेलाडी तयार गर्नु असम्भव नै हुन्छ । नेपाल ओलम्पिकमा हालसम्म एउटा पदकको नजिक पनि पुग्न नसक्नु यसैको नतिजा हो ।
हालै सम्पन्न टोकियो ओलम्पिकमा पनि नेपाली खेलाडी विगतको झैं पहिलो चरणबाटै बाहिरिए । तर यसमा खेलाडीहरूको दोष पटक्कै छैन । किनकि खेलकुद प्रतियोगिताको नतिजा भाग्यमा आधारित लुडो खेल जस्तो हुँदैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा खेलाडीको सफलता समयसापेक्ष खेलकुद विज्ञानमा आधारित खेलाडीले गर्ने अभ्यास र अथक परिश्रममा भर पर्छ । ओलम्पिकमा भाग लिने नेपाली खेलाडीहरूलाई जुन पाठ्यक्रम र जुन स्तरमा अभ्यास गराइन्छ त्यसको नतिजा पहिलो चरणबाट बाहिरिने नै हो । करिब ६० बर्षे नेपालको ओलम्पिक यात्रामा नेपाली खेलाडी एउटा काँस्य पदकको नजिक पनि पुग्न नसक्नुले माथि भनिएका कुरालाई पुष्टि गरिदिने आधार बनाइदिन्छ ।
अब यहाँनिर प्रश्न आउँछ, के ओलम्पिकमा पदक ल्याउनै पर्छ ? नेपालजस्तो गरिब देशले खेलकुदमा लगानी गर्नुको साटो उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भनाइ धेरैको हुन सक्छ । ओलम्पिकमा पदक नल्याउँदा नेपालमाथि कुनै प्रतिबन्ध वा नाकाबन्दी नै लाग्ने त होइन; अनावश्यक किन टाउको दुखाउने ? खेलकुदमा मात्रै नभई अन्य क्षेत्रमा पनि यस्तै सोच हावी भएकैले हुनसक्छ नेपाल अति कम विकसित देशको दर्जाबाट अझै उठ्न सकेको छैन। लाखौंको संख्यामा नेपाली युवाहरू विदेशमा श्रम बेचिरहेका छन् । यस किसिमका आम नकारात्मक सोचलाई सकारात्मक सोचमा परिवर्तन गर्न ओलम्पिक लगायत अन्य ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलताको सिँढी बनाउन सकिन्छ ।
अलोम्पिक के हो र किन भाग लिने ?
आधुनिक ओलम्पिक एउटा प्रमुख अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हो जसमा हजारौंको संख्यामा खेलाडीहरूले प्रतिस्पर्धा गर्छन् । ओलम्पिक खेलकुद सबै राष्ट्रका खेलाडीमा भएका उत्कृष्ट प्रतिभालाई विश्वसामु प्रदर्शन गरी सम्मान गर्ने विश्वको एक मात्र र सबैभन्दा ठूलो खेलकुदको कुम्भमेला हो । यो सम्मानसहित आफ्नो देशको झण्डा फहराउन हरेक देशबाट छनोट भई आएका उत्कृष्ट खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्छन् । ओलम्पिकले खेलाडीहरूलाई आफ्नो स्तर र क्षमता अरु देशका खेलाडीसँग दाँज्ने अवसर पनि जुटाउँछ । ९० भन्दा बढी देश र राष्ट्रका हजारौंको संख्यामा आउने खेलाडीले ओलम्पिकमा विश्वका दुई तिहाइ भन्दा पनि बढी जनसंख्याको प्रतिनिधित्व गर्छन् ।
दर्शकको लागि ओलम्पिक अन्तर्राष्ट्रिय स्तरको एकभन्दा बढी खेलका प्रतिस्पर्धा हेर्ने एक मात्र बृहत् मञ्च हो । ओलम्पिकले उत्कृष्टता, सम्मान र भाइचारा मूलतः यी तीन मूल्य र मान्यतालाई बोकेको हुन्छ । यो मूल्य र मान्यतालाई आधार बनाई सहभागी देशका खेलाडीले उत्कृष्ट प्रदर्शन मार्फत आफ्नो देशको छवि प्रस्तुत गर्छन् । यही कुरालाई ध्यानमा राखी अधिकांश देशले ओलम्पिकलाई आफूलाई अब्बल सावित गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा लिने गरेका छन् । तर नेपालले भने ओलम्पिकलाई त्यति गम्भीरतापूर्वक लिन नसकेको हो कि ? ओलम्पिकमा नेपालको झन्डै ६ दशकको पदकविहीन सहभागिताले यही कुरालाई पुष्टि गर्छ । हामी कहिलेसम्म सहभागितामै रमाइरहने ?
ओलम्पिक पदकको प्रतिस्पर्धामा को अगाडि ?
ओलम्पिक पदक जित्ने प्रतिस्पर्धामा केही सीमित देशको वर्चस्व रहँदै आएको छ । पछिल्लो ३ ओलम्पिकको पदक तालिकालाई हेर्दा संयुक्त राज्य अमेरिका, चीन, रसिया, जर्मनी, जापान, बेलायत लगायत देशले अधिकतम स्वर्णसहित पदक संख्यामा पनि उच्च स्थान ओगट्न सफल भएका छन् । हालै सम्पन्न टोकियो ओलम्पिकको पदक तालिकामा पनि यिनै राष्ट्रहरूको वर्चस्व रह्यो । टोक्यो ओलम्पिकमा १ हजार ८० पदक प्रदान गरिएकामा संयुक्त राज्य अमेरिकाले मात्रै १ सय १३ पदक जित्न सफल भयो । अमेरिकाले जितेको यो संख्या कूल पदकको १० प्रतिशतभन्दा बढी हो । साथै अमेरिकाले ३ सय ४० स्वर्णमध्ये ३९ स्वर्ण जिती कूल स्वर्ण संख्याको ११ प्रतिशत आफ्नो नाममा लेखाउन सफल भयो । यसैगरी चीनले कूल पदकको ८ प्रतिशत पदक जित्दा स्वर्णको संख्या ३८ अर्थात् ११ प्रतिशत रह्यो । यसैगरी जापान, रसिया र बेलायतले कुल पदकको समान ६ प्रतिशतभन्दा बढी पदक जितेका छन् । यी ५ राष्ट्रले जितेको पदक मात्रै कूल पदकको करिब ४० प्रतिशत हुन आउँछ ।
ओलम्पिक पदकमा केही सीमित राष्ट्रको वर्चस्व कायम रहनु पछाडिको आधार खोज्दा पैसा र जनसंख्या झट्ट देखिन आएपनि सम्पूर्ण कारण त्यतिलाई मात्रै मान्न सकिंदैन । करिब १ अर्ब ३० करोड जनसंख्या र २ लाख ८० हजार करोड अमेरिकी डलरको अर्थतन्त्र रहेको भारतले टोकियो ओलम्पिकमा १ स्वर्ण सहित ७ पदक मात्रै जित्यो । पदक तालिकाको ४८ औं स्थानमा रहेको भारतको लागि यो सफलता विगत ४० वर्षको ओलम्पिक इतिहासमा सबैभन्दा ठूलो हो । भारतको यो नतिजाले के पुष्टि गर्छ भने ठूलो जनसंख्या मात्रै धेरै पदक जित्ने आधार हुन सक्दैन । तुलनात्मक रूपमा सानो जनसंख्या भएको अस्ट्रेलियाले ओलम्पिकमा निकै राम्रो प्रदर्शन गर्दै आएको छ । हालैको टोकियो ओलम्पिकको नतिजा हेर्दा अस्ट्रेलियाले १७ वटा स्वर्ण सहित कूल ४६ पदक जितेर पदक तालिकाको छैटौं स्थानमा रह्यो । करिब २ करोड ६० लाख जनसंख्या र १ लाख ४० हजार करोड अमेरिकी डलर अर्थतन्त्र रहेको अस्ट्रेलियाले कसरी ओलम्पिकमा राम्रो सफलता पाइरहेको छ ? खेलकुद पूर्वाधारको विकास, सक्रिय खेलकुद गतिविधि र समयसापेक्ष प्रशिक्षणबाट अस्ट्रेलियाको यो सफलता संभव भएको खेलकुद विज्ञले औंल्याएका छन् । यसैगरी साना र कमजोर आर्थिक अवस्था भएका देशले पनि ओलम्पिकमा पदक ल्याएकै छन् । यस अर्थमा नेपाल त्यति सानो र आर्थिक रूपमा पनि त्यति कमजोर पनि होइन कि सधैं पदकविहीन रहिरहनु परोस् । अफगानिस्तान आर्थिक रूपमा कमजोर भएर पनि ओलम्पिकमा पदक जित्न सफल भएको छ ।
ओलम्पिकमा पदक ल्याउन नेपालले गरेको प्रयास
राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुन नसक्ने देशमा ओलम्पिकलाई लक्षित गरी बृहत् खेलकुद गतिविधि संचालन गर्ने कुरै भएन । २०६४ सालमा सदस्य-सचिव जीवनराम श्रेष्ठको कार्यकालमा राष्ट्रिय खेलकुद परिषद्ले “भिजन २०२०” नाम दिइएको खेलकुद कार्यक्रम शुरु गरेको थियो । त्यस कार्यक्रमको मूल उद्देश्य सन् २०२० सम्म ओलम्पिकमा कम्तिमा एउटा पदक र एसियाली खेलकुद प्रतियोगिता (एशियाड) मा स्वर्ण पदक जित्ने भन्ने थियो । सन् २०१८ मा इन्डोनेशियामा सम्पन्न एसियाड र सन् २०२० मा हुनु पर्ने टोकियो ओलम्पिक कोरोना महामारीका कारण २०२१ मा सम्पन्न हुँदासम्म नेपालले माथि भनिएका लक्ष्य भेट्टाउन सकेन । नेपालका ओलम्पियन खेलाडी दीपक विष्ट भिजन २०२० कार्यक्रम राम्रो रहे पनि कार्यान्वयन पक्ष फितलो रहेकोले लक्षित परिणाम नआएको बताउँछन् ।
अब कसरी अगाडि बढ्ने त ?
नेपालका खेलकुद प्रशिक्षक, खेलाडी संघका पदाधिकारी, सञ्चारकर्मी खास गरेर खेलकुद पत्रकार र निजी क्षेत्रसँग बृहत् छलफल गरी आएका सुझावलाई गम्भीरतापूर्वक लिई खेलकुद कार्यक्रम लागू गर्नुपर्छ । खेलकुद प्रतियोगिताको प्रायोजनमा निजी क्षेत्रको भूमिकालाई फराकिलो पार्दै लग्न सके खेलकुदमा सरकारको आर्थिक भार कम हुँदै जान्छ । क्रिकेट र फूटबलमा विदेशी प्रशिक्षक राखे जस्तै ओलम्पिकमा पनि सम्भावना बोकेका खेलमा विदेशी दक्ष प्रशिक्षक राख्दा फरक नतिजा आउन सक्छ ।
अन्त्यमा, एउटा चर्चित उक्तिलाई राखी यो लेख यहीं अन्त्य गर्न चाहें, “स्वर्ण पदक वास्तवमा सुनले बनेका हुँदैनन् । ती त खेलाडीको पसिना, दृढ सङ्कल्प र भेटिनै मुस्किल 'हिम्मत' को सम्मिश्रणले बनेका हुन्छन्" - अमेरिकाका विश्व च्याम्पियन तथा ओलम्पिकमा समेत स्वर्ण जितेका प्रख्यात कुश्तिवाज डान गाबल ।