भाद्र शुक्लपञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज हिन्दु नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने र गाईको गोबर, माटो, खरानी लगाई स्नान गर्दछन् ।
धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार हरितालिका (तीज) को व्रत एवं पूजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाले मात्र गर्ने शास्त्रीय वचन रहेको छ । रजस्वला भएका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको गौतमले बताए ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । स्नानसहित वधिपूर्वक ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका तीजको व्रत सम्पन्न हुने मान्यता छ।
आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ । कोरोना सङ्क्रमण फैलने जोखिम रहने हुँदा मन्दिर खुला गरिएपनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पूजा आराधना गर्न प्रशासनले आह्वान गरेको छ ।