नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ भने कराते पर्वतको कुस्मामा आजदेखि नै आयोजना गरिएको छ । । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको तेक्वान्दो प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुँदैछ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका छ र गेरोगीका १६ गरी २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिए । स्वर्ण र कांस्य २२/२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४६ देखि ७२ र पुरुषतर्फ ५४ देखि ८७ केजी तौल समूहका खेलाडी सहभागी छन् । शुक्रबार साँझ भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषतर्फ नेपाल पुलिस क्लवले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले बताए ।
महिलातर्फ ७.१९९ अंक सहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७.१४९ अंक जोडेकी थिइन् । तेस्रो स्थान प्राप्त गर्न सफल प्रदेश १ की शुशिला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाइन् । पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अंकसहित विजयी हुँदा लुम्बीनीका युवराज रानाले ७.१४९ अंक सहित उपबिजेता बन्न सफल भए । त्यस्तै ६.८६६ अंक सहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंक सहित प्रदेश १ का विवेक राई तेस्रो भए । पुम्से र गिरोगीतर्फका बाँकी खेल आज सञ्चालन हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ ।
त्यसैगरी पर्वतमा नवौं राट्रिय खेलकुद अन्तर्गत आजबाट कराँते विभिन्न १९ वटा ‘इभेन्ट’ सुरु हुँदैछन् ।पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ । शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ । जसमा महिला ५५ के।जी, पुरुष ७५ के।जी, महिला ६१ के।जी, र पुरुष ८४ के।जी भन्दा माथिको तौल समूह गरेर चार वटा खेल हुने छन् । यी समूहको सेमिफाइनल र फाइनल खेल दिउसो एक बजेपछि सुरु हुने छन् ।
असोज ३१ गते पुरुष ६० के.जी, महिला ६८ के.जी भन्दा माथि, पुरुष ६७ के।जी र महिला ६८ के.जी. भन्दा तल र पुरुष ८४ केजी भन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुने छन् । यी विधाको सेमिफाइनल र फाइनल खेलहरू सोही दिनको दिउसो एक बजेपछि खेलाउने तयारी छ ।
कात्तिक एक गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० के।जी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’ मा खेल हुनेछन् । यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउसो एक बजेपछि हुने छन् । कात्तिक दुई गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुने छन्।