पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गरे । उद्घाटन मन्तव्यमा उपराष्ट्रपति पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताए । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उनले विश्वास व्यक्त गरे ।
रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थितिका बीच समुद्घाटन गरिएको हो । उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता थियो । समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास्ट गरियो । मार्चपास्टमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी गराइएको थियो ।
यस क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिए । उद्घाटन समारोह अगावै रङ्गशालाका प्याराफिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति थियो । सातवटै प्रदेशको संस्कृति झल्कने गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो ।
कूल ३६ वटा खेल र दुई प्रदर्शनी सहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । कूल छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ । प्रतियोगितामा करिब एक हजार ३०० पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो । ३६ खेल मध्येका २६ वटा खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भैरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा नवौं राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन् ।
उद्घाटनकै अवसरमा निर्णयकका तर्फबाट भलिबलका रेफ्री पहलसिंह थापा र खेलाडीका तर्फबाट प्याराग्लाइडिङका सुशिल गुरुङले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित शपथ ग्रहण गरेका थिए । समारोहमा ओलम्पिक टर्च प्रज्वलन दीकाबहादुर बोगटीले प्रज्वलन गरेका थिए ।