४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता लागू भएकोले बचारसंहिता उल्लंघन भएमा उजुरी गर्न आयोगले आह्वान गरेको छ । उजुरी निर्वाचन अधिकृतका कार्यालय, जिल्ला प्रशासन र सिधै आयोगमा पनि गर्न सकिने आयोगका प्रवक्ता शाल्ग्रम शर्मा पौडेलले बताए ।
राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार जान भने मन्त्रीहरुलाई छेक्ने छैन ।
सरकारी कर्मचारी, सार्वजनिक संस्थानले कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउने छेनन् भने कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ । आयोगको मंगलबारको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न भनेको छ ।
दर्ता भएका दलहरूले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न पाउने छैनन् । राजनीतिक दलहरुले प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ भने प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।
दलहरुले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ । आयोगको अनुमतिपछि मात्र हेलिकप्टर प्रयोग गर्न पाइनेछ ।
गत स्थानीय निर्वाचनमा पनि आचार स्हिता जारी गरिएको भएपनि जिल्लाजिल्लामा कैयौं उम्मेदवारले ठूलो संख्यामा बाहुबल प्रयोग गरी गुण्डागर्दी, मोटरसाइकल र ट्र्याक्टर तथा गाडीहरुको जुलुस गरी भड्किलो प्रचार गरेका थिए । स्थानीय निर्वाचनमा केन्द्रीय नेताले हेलिकोप्टरबाट शयर गरी भाषण गरेका थिए जुन फजुल खर्च हो ।
यसपटक मन्त्री र प्रधानमन्त्रीको फजुल तथा रवाफिलो भ्रमणलाई नियन्त्रण गर्न खोजिएको छ । नेताहरुले आफैंले गुण्डा, मदिरा र नगद परिचालन गरेर निर्वाचन जित्ने र निर्वाचन प्रणाली महँगो भयो भन्ने भाषण दिने गरेकोमा आयोगले आपत्ति जनाउने गरेको छ । त्यस क्रममा उसले ती नेतासँग स्पष्टीकरण पनि सोध्ने गरेको छ ।