नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन् । उनी बोल्न र हातले केही पनि गर्न सक्दैनन् । तर खुट्टाको सहयोगमा भने अन्य काम गर्छन् । साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि झमक जस्तै बन्ने छ । पच्चीस वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ । उनले खुट्टाको सहायताले लेख्ने र सामाजिक सञ्जाल प्रयोग गर्ने गर्छन् ।
उनका बुबा मनबहादुर खाम्चा भन्छन्, “कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो ।” अन्य व्यक्ति जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ । खुट्टाको सहायताले उनले कक्षा १२ कक्षा उत्तीर्ण गरेका छन् । अब उनी उच्चशिक्षा हासिल गर्ने सुरसारमा छन् ।
सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुर सताएको छ । उनी भन्छन्- “छोराले एसइई परीक्षा उत्तीर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो ।” यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ । अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढेका उनले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसकेका छन् ।
“अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने”, उनले भने । अवस्था सहज भने छैन । उनी परिवारको चार सन्तानमध्ये माइलो हुन् । आठ वर्षसम्म ओछ्यानमा बिताएका यमले आफ्नो आवाज अरूसामु पुर्याएको देख्दा आमा योगमाया औधी खुसी छन् । योगमाया भन्छिन्, “मलाई विस्तारै बुढ्यौलीले छुँदैछ, ६१ वर्षकी भए, छोराको रेखदेखमै दिन बित्छ । जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने ?” छोराको भविष्य सम्झिँदै आँसु पुछ्दै उनले भनिन्, “छोराको भविष्यको चिन्ताले सधैं सताउँछ । उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो ।”