अति ठूलो वर्षासँगै पहिरोले घरहर बगाउँदा अछामका तीन वटा पालिकामा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुतिरहेका बालबालिका पनि छन् । आज बिहान ४ बज्नुअघि पहिरोले घरहरु बगाएको थियो ।
तुर्माखाँद गाउँपालिका वडा नं.–५ नाडास्थित काडाचौरमा पहिरोमा परी ज्यान गुमाउने मध्येका ४ जनाको शव निकालिएको छ भने थप ५ जना पहिरो मै पुरिएका छन् । नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिदाँ उनीहरूको ज्यान गएको हो । ४२ वर्षीय नेत्रबहादुर शाही, उनकी ३५ वर्षीया श्रीमती मनिषा शाही, १६ वर्षीया छोरी बिमला शाही र १६ वर्षीया भतिजी जानकी शाहीको शव पहिरोबाट निकालिएको छ । विमला र जानकी स्थानीय कालिकाश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका वडा नं.–६ बीरपथमा पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको छ । उक्त पहिरोमा पुरिएर थप तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ ।
त्त्यसैगरी कमलवजार नगरपालिका वडा नं. ६ ठाँटीखाँदका इन्द्र कामीको परिवारका ८ जनाको शब फेला परेको छ । मीनबहादुर शाहीकी छोरी जानकी विमलासँग सुत्न आएका बखत पहिरोमा परेको बताइएको छ । उक्त पहिरोमा परेर रितबहादुर शाहीका दुई नातिनी, २ बुहारी र १ छोरा समेत पुरिएका छन् ।
पहिरोमा पुरिएका मध्ये रितबहादुरकी नातिनीहरु १ वर्षीया मेलिना शाही, ३ वर्षीया करिष्मा, बुहारीहरु २० वर्षीया कमला शाही, २३ वर्षीया भावना शाही र १२ वर्षीय छोरा सुन्दर शाही रहेका छन् । निरन्तरको वर्षाका कारण पहिरोमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको खबर छ । त्यस्तैै ढकारी गाउँपालिकाको पहिरोमा एक जना बेपत्ता छन् ।