चीनबाट नेपाल आयात हुने सामानहरु महिनौंदेखि सिमानामा रोकिएको समयमा चीनबाट उच्चस्तरीय औपचारिक भ्रमण हुँदैछ । चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको चारदिने औपचारिक भ्रमणमा चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली विशेष विमानबाट अवतरण गर्नेछन् । सोमबार नै सभामुख सापकोटा र लीले वार्ता गर्नेछन् ।
वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्याउन सक्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ । सभामुख सापकोटाले नेता ली तथा चिनिया प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोज आयोजना गर्ने छन् ।
बिहीबारसम्मको नेपाल बसाइँमा चिनियां टोलीले यहाँका सबै गण्यमान्य पदाधिकारीसँग भेटवार्ता गर्नेछ । वार्ताको मुख्य विषय भनेका एक चीन नीति, बेल्ट एण्ड रोड इनिसिएटिभ्स आदि हुनेछन् । नेपालले सदा झैं एक चीन नीतिप्रतिको अडान दोहोर्याउनेछ ।
परराष्ट्र मन्त्रालयको कार्यसूची अनुसार चिनिया प्रमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छ भने परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट तय भएको छ।
लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रासद तिमिल्सिनासँग पनि भेट्नेछन् । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता तय भएको छ।
२०७२ सालको भूकम्पपछि विभिन्न कारण देखाएर चीनले तातोपानी नाका बन्द गरेको थियो । भारतले नाकाबन्दी गरेको बेलामा रसुवातर्फबाट प्रतीकात्मक रुपमा तेल ल्याइएको थियो । त्यसबेला पारबहन सम्झौता समेत भएको थियो । तर भूकम्पका केही वर्ष तातो पानी नाका रोकेको चीनले पछिल्ला वर्षमा कोभिड महामारीको कारण देखाएर चीनतर्फको आयात पूरै रोकेको छ भने चीनमा खरिद भएका सामान पनि नेपालतर्फ अड्कलेर मात्रै छोड्ने गरेको छ ।