देशले परिवर्तन खोजिरहेको छ र पुराना नेता परिवर्तन गर्न खोजिरहेको छ । त्यसैले स्वस्फूर्त रुपमा "नो नट अगेन" नारा सामाजिक सञ्जालमा लोकप्रिय छ । "नो नट अगेन" भनेको फेरि पनि होइन है भनेको हो । पुराना नेतालाई । त्यसैले स्वतन्त्र र नयाँ दलका अनेक गठबन्धन बन्ने र समीकरण बनाउने काम भैरहेको छ । तर ती गठबन्धन कत्तिको लोकप्रिय होलान्? तिनीहरुमा पदलोलुप पहिचान बनाएका व्यक्ति नै पो छन् कि? अथवा उदीयमान नयाँ शक्तिहरुमा केकस्ता चलखेल भैरहेका छन् त भन्ने विषयमा मूलधारका मिडियाले उस्तो ठाउँ दिएको पाइँदैन । "नो नट अगेन" अभियान र त्यसभित्रका सम्भावना र चुनौतीहरुलाई केलाउन यो लेखोट अघि बढाइएको हो ।
राजनैतिक प्रयोगको उर्वर भूमि नेपालमा भएका पुराना पार्टी र शक्तिहरुलाई नयाँ, इमान्दार र नैतिक व्यक्ति वा समूहले शान्तिपूर्ण र लोकतान्त्रिक विधिद्वारा चुनौती दिँदै स्वतन्त्र र वैकल्पिक अभियानहरू सञ्चालन गरेको पनि एक दशकभन्दा बढी भयो। यस्तो रुपान्तकारी अभियान इन्जिनियरिङ र कानुन लगायत पेशागत क्षेत्रबाट मात्र नभएर स्थानीय र संसदीय निर्वाचनमा पनि उत्तिकै सशक्त हुँदै गएको देखिन्छ । बलियो संगठन बिनाका स्वतन्त्र र वैकल्पिक उम्मेद्वारहरुले टोल-टोलमा दशकौँदेखि संगठित र सक्रिय ठूला पार्टीका कार्यकर्ताको हाराहारी मत प्राप्त गर्नु वा चुनाव नै जित्नु चानचुने उपलब्धि हैन । एक दशक लामो उक्त अभियानको जगमा टेक्दै विगत ६ महिना देखि हामीले आउँदो आम निर्वाचन लक्षित स्वतन्त्र-वैकल्पिक एकताको पक्षमा विभिन्न सञ्जाल निर्माण तथा भेटघाट र कार्यक्रम गर्दै आएका छौं । आजसम्म आइपुग्दा उक्त एकता अभियान (राष्ट्रिय स्वतन्त्र गठबंधन अभियान: नेसनल इण्डिपेन्डेन्ट एलायन्स) कहाँ र कस्तो अवस्थामा छ? अनि आगामी दिनका यसका रणनीति के हुन सक्छन्? भन्नेबारे यस लेखमा उल्लेख गर्ने कोसिस गरिन्छ । लेखको पहिलो भागमा अभियानका मुख्य घटकहरुको अवस्था र दोश्रो भागमा आउँदो दिनको लागि सुझाव छोटकरीमा पस्कने कोसिस गरिएको छ ।
स्वतन्त्र-वैकल्पिक राजनैतिक अभियानको मुख्य घटक देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिले चर्चा गरौं । घण्टी चुनाव चिन्ह रहेको यो नयाँ दलले राष्ट्रव्यापी र निकै राम्रो परिदृश्य बनाइरहेको देखिन्छ जसको पहिचान र चर्चा हाम्रा अघिल्ला दुई लेखहरुमा उपलब्ध छन् । ती लेखको लिंक यस आलेखको अन्त्यमा राखिएको छ ।
तर के उक्त दलको सभाहरुमा उपस्थित जनता सबैले आउँदो निर्वाचनमा आँखा चिम्लेर घण्टीमै भोट हाल्छन् त? भन्ने प्रश्न को जवाफ सजिलो भने पक्कै छैन । अब जनता निकै सचेत छन् र पार्टी नभनेर व्यक्ति लाई छानीछानी भोट हाल्छन् भन्ने तथ्य गएको स्थानीय चुनावको मत परिणाम र मतपत्रको चरित्र दुवैले स्थापित गरेका छन् । रास्वपाका कार्यक्रमहरुमा देखिने जनताको भिड प्रख्यात टेलिभिजनकर्मी रवि लामिछानेसँग फोटो खिच्न आएका (जस्तै, कुनै अर्को चर्चित कलाकार आउँदा वा कन्सर्ट हुँदा पनि मान्छेको भिड लाग्ने गर्दछ), यसो जाऊँ न त खासै काम पनि छैन, रविको भाषण सुनौं र खानपिन पनि गरौँ भनेर स्वस्फूर्त आएका (जसले चुनावको दिन विवेक प्रयोग गरेर मत खसाल्न सक्छन्) वा आयोजकले पैसा लगानी गरेर भाडामा ल्याइएका (जुन नेपालको राजनीतिमा दुर्भाग्यवश सामान्य भएको छ) के र कति हुन्? छुट्याउन आवश्यक छ । नभए, यसको जवाफ अब निर्वाचनको मतले मात्रै भन्न सक्छ ।
अर्को कुरा रास्वपाले योग्य व्यक्ति र स्वतन्त्र उम्मेद्वारलाई पार्टीको घण्टी चुनाव चिन्ह लिएर चुनाव लड्न प्रेरित गर्दैगर्दा उक्त व्यक्तिलाई पार्टीको केन्द्रीय समितिमा लान पनि प्रेरित गर्नु पर्दछ, वा तीमध्ये इच्छुकलाई स्वागत गर्नु पर्दछ । नत्र भोलि बन्ने संसदीय दल र पार्टीबीच द्वन्द र ठूलो संकट आउने देखिन्छ । रास्वपा पंक्तिले यस विषयलाई गम्भीर रुपमा लिएको पाइएको छैन । यसभित्र राजनैतिक ज्ञानको कमी वा बदनियत वा अन्य केही योजना लुकेको छ भन्ने बुझ्न त्यति गाह्रो छैन । देश बनाउँछौं र संविधानवादलाई स्वीकार्छौं भन्ने दलले राष्ट्रिय सभा (जसको निर्वाचनमा प्रदेशसभाका सांसदको स्थानीय सरकारका प्रतिनिधिहरूभन्दा निकै धेरै अंकभार हुन्छ !) सम्म दूरगामी असर पर्ने गरी प्रादेशिक सभाको निर्वाचनमा सहभागी हुन्नौं भन्नु आफैँमा एउटा कमजोर राजनैतिक अध्ययन हुन सक्ने अनुमान विज्ञवृत्तमा गर्ने गरिन्छ ।
स्वतन्त्र वैकल्पिक राजनैतिक अभियानको अर्को घटक हो- हाम्रो नेपाली पार्टी (हानेपा) वा लौरो अभियान । काठमाडौं महानगरपालिका जित्ने बालेन शाह र धरान उपमहानगरपालिका जित्ने हर्क साम्पाङ्को चुनाव चिन्ह रहेको लौरो स्थानीय चुनाव पश्चात् स्वतन्त्रको प्रतीक नै बन्यो । योसँगै नेपाल तथा विदेशमा विभिन्न स्वरूपमा राष्ट्रिय स्वतन्त्र लौरो अभियान नै चल्यो । त्यसलाई निरन्तरता दिन सकेको भए लौरोले राष्ट्रव्यापी निकै राम्रो लहर आउन सक्थ्यो - यदि हानेपाको नेतृत्व साच्चिकै स्वतन्त्र वैकल्पिक नेताको हातमा पुगेको भए । तर सुरु देखि नै बाहिर एउटा र भित्र अर्कै प्रस्तुति हुँदा लौरो पार्टीको गरिमा झन् झन् घट्दो छ ।
समग्रमा भन्नु पर्दा आज लौरो प्रदुषित भएको छ । धेरै आलोचना पश्चात् बल्ल स्वतन्त्र अभियन्ताको चिनारी बनाएका सुमन सायमीलाई लौरो उम्मेदवारी अभियानको संयोजक बनाउने निर्णय भयो जुन एक हिसाबले स्वागतयोग्य नै छ तर भोलिको संसदीय दल र लौरो चिन्हबाट निर्वाचित हुने सांसदको नेतृत्व गर्ने पार्टी (हानेपा) को नेतृत्व भने उही पुरानै राजनीतिका खेलाडीको हातमा छ । अझ अनौठो कुरा त उक्त पार्टीको केन्द्रमा को को छन्? सम्म बताइएको छैन । थाहा भएका एकाध केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता भनिएका साथीहरुको पोस्टर मा "स्वतन्त्र उम्मेद्वार" भनिएको छ । अन्तर्वार्ताहरुमा हानेलाई "कागजी पार्टी" को संज्ञा दिएर बहुदलीय संसदीय व्यवस्था नै नबुझेको जस्तो गरिएको छ । नेपालको राजनीतिमा यो डरलाग्दो अवस्था हो ।
हानेपाका कार्यकारी अध्यक्ष इन्जिनीयरिङ्ग सञ्जालका एक सदस्य हुन् जो लामो समय पुराना राजनैतिक पार्टीका कार्यकर्ता र समर्थक बन्दै विवादास्पद राजनैतिक नियुक्ति लगायत नैतिक आचरणमा चुकेको प्रमाणित पात्रको रुपमा बढी चिनिन्छन् भनेर पनि आलोचना गरिन्छ । त्यस पार्टीको नेतृत्व र पूरै समिति स्वतन्त्र धरातलबाट आएका सक्षम नेताहरु नभएसम्म लौरो अभियानले अपेक्षित उचाई लिने सम्भावना कम छ । बाहिर भन्ने एउटा तर भित्र गर्ने अर्को चरित्र राजनीतिमा घातक हुन सक्छ । हामीले सच्याउन दवाव दिँदा उल्टो त्यसलाई व्यक्तिगत लिने हानेपाका नेता साथीहरुले ऐतिहासिक अवसर गुमाउँदै गएका छन् । त्यसमाथि रास्वपा (घण्टी) जस्तै यस दल र अभियानले पनि योग्य व्यक्तिलाई लौरो चुनाव चिन्हमा चुनाव लड्न प्रेरित गर्दै गर्दा उक्त उम्मेद्वारलाई पार्टीको केन्द्रीय समितिमा लान पनि प्रेरित गर्नु पर्दछ वा इच्छुक उम्मेद्वारलाई सहृदय स्वागत गर्नु पर्दछ । दुःखको कुरा यस्तो चरित्र र नियत यस दलमा पनि पटक्कै देखिँदैन ।
रमेश खरेल संयोजक रहनु भएको राष्ट्रिय स्वतन्त्र शक्ति नेपाल सुशासन, सचेतना लगायत केही साना दलको गठबंधन हो । आमाको काख चुनाव चिन्ह रहेको उक्त स्वतन्त्र वैकल्पिक राजनैतिक शक्तिले सुरु देखि नै सबैलाई मिलाएर लाने गरी प्रस्ताव गरेको 'मेल्टिङ पट' को अवधारणा स्वागतयोग्य छ। सुरुमा सँगै देखिने उन्नत लोकतान्त्रिक पार्टीका स्वागत नेपाल भने पछिल्लो चरणमा यस गठबन्धनबाट बाहिरिएको देखिन्छ । यस शक्तिले चुनावी सफलता प्राप्त गर्न भने रास्वपा जस्तै राष्ट्रव्यापी गतिविधि गर्नु पर्ने हुन्छ जसको सुरुवात दाङबाट गर्ने तयारी देखिन्छ । स्वतन्त्र वैकल्पिक एकता अभियानको महत्वपूर्ण घटक यसको समस्या भनेको हरेक क्रियाकलापमा गठबन्धनमा भएका दुई-चार वटै पार्टी र नेताको हस्ताक्षर सहित आमाको काख चुनाव चिन्ह लिने उम्मेद्वार - जो आफ्नो संसदीय राजनैतिक स्थायित्वको लागि सम्बन्धित पार्टीको केन्द्रमा पनि बस्न चाहन्छन् - लाई कुन पार्टीमा समायोजन गर्ने भन्ने निर्णय प्रक्रिया जटिल हुने देखिन्छ । त्यसो भन्दै गर्दा समग्रमा यो शक्ति अरु भन्दा बढी पारदर्शी, इमान्दार र भरपर्दो देखिन्छ ।
अब कुरा गरौँ अर्को स्वतन्त्र-वैकल्पिक राजनैतिक एकता अभियानको ४० मुनिका युवा र महिलालाई विशेष प्राथमिकता दिने समूह- पुनर्जागरण पार्टी नेपाल- सँगै अन्य वैकल्पिक दल वा शक्तिको । मैनबत्ती चुनाव चिन्ह रहेको र परिणाममुखी राजनैतिक एकताको लागि आफूलाई पूर्ण पुनर्संरचना गर्न तयार भनिएको यो पार्टी भर्खर जन्मिएको तर आम निर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा ठिक्क तयार भएर बसेको छ । स्व. उज्वल थापा नेतृत्वको विवेकशील नेपाली अभियान ('उज्वल पथ') को झझल्को आउने, युवा र महिला नेतृत्वमैत्री, यो समूह/प्लेटफर्मलाई सम्पूर्ण स्वतन्त्र र वैकल्पिक उम्मेद्वारहरु मिली हाँक्ने हो भने र यस्तै अन्य नयाँ/वैकल्पिक दल/अभियान (जस्तै- स्व. ई. ताकाशी मियाहारा संस्थापक रहेको नेपाल राष्ट्रिय विकास पार्टी, नेराविपा ('मियाहारा विकास मोडेल २०६२') - साविकको रेडियो चुनाव चिन्ह, नेपाल विवेकशील पार्टी - कुकुर चुनाव चिन्ह, साझा पार्टी - पाइला चुनाव चिन्ह, विवेकशील साझा पार्टी - तराजु आदि) संग एकता (वा गठबन्धन) गर्ने हो भने यो नै कमसेकम प्रादेशिक निर्वाचन (जुनमा रास्वपा ले सहभागी नहुने निर्णय गरेको छ) मा सबै भन्दा सफल र दिगो वैकल्पिक शक्ति (तेस्रो ध्रुव) बन्न सक्छ ।
यसरी बन्ने राजनैतिक गठबन्धनमा हामी जस्ता देश-विदेश भोगेका सफल पेशाकर्मी, विज्ञ अनि ऊर्जावान युवा उम्मेदवारको बहुमत हुन आवश्यक छ । अनि मात्र ई. सागर ढकाल जस्ता युवा र महत्वाकाङ्क्षी युवा नेता तथा विज्ञ उम्मेद्वारहरूलाई पनि यसले सहकार्यको लागि आकर्षित गर्न सक्छ । यसको लागि नेतृत्व, केन्द्रीय समिति र घोषणापत्र उपयुक्त बनाउन सक्नु पर्दछ । त्यसो हुँदा, यस युवा-मैत्री पार्टी हामीले सञ्चालन गर्दै आएको स्वतन्त्र ईन्जिनियरिङ् अभियान ('डीट्रिपलआईएसई रूपान्तरण') देखि नेपाल पूर्वाधार विकास पार्टी ('ईआईपी', 'रेसिप्रो' 'आईएचएफ', ''७स' विकास मोडेल) सबैको सपना पूरा गर्न सक्ने उच्च इमान, इच्छाशक्ति र क्षमता सहितको एकीकृत राजनैतिक शक्ति बन्न सम्भव छ ।
अब स्वतन्त्र-वैकल्पिक राजनैतिक एकता अभियान (राष्ट्रिय स्वतन्त्र गठबन्धन) को आगामी रणनीति र कार्यदिशा बारे छोटो चर्चा गरौं । माथि उल्लेखित चार वटा शक्ति मिल्ने हो भने नेपालको राजनीतिमा तेस्रो ध्रुव बन्न सम्भव छ । प्रस्तावित मिलनलाई निम्नानुसार तीन भागमा विभाजन गर्न सकिन्छ:
१. स्वतन्त्र शक्ति (आमा) र पुनर्जागरण पार्टी/पुजा (मैनबत्ती) को गठबंधन गर्ने, र पुनर्जागृत राष्ट्रिय स्वतन्त्र शक्ति (प्रगतिशील तेस्रो ध्रुव) बनाउने । २. उक्त पुनर्जागृत राष्ट्रिय शक्ति (चुनाव चिन्ह: आमा) ले रास्वपा (घण्टी) र हानेपा/लौरो अभियान (लौरो) सँग मिली संघीय (प्रतिनिधि सभा) निर्वाचनमा १६५ जना आशलाग्दा उम्मेद्वार प्रत्यक्ष निर्वाचनमा खडा गर्ने । आवश्यक परे विभिन्न चिह्न लिन इच्छुक उम्मेद्वारबीच सार्वजनिक बहस र प्राइमरी गर्ने । अनि, समानुपातिकमा आफ्नो आफ्नो पार्टीको सूची तयार गर्ने, किनकि अब निर्वाचन आयोगमा सूचीकृत भइसकेका पार्टीबीच एउटै चुनाव चिह्नमा जान असम्भव छ । ३. पुनर्जागृत राष्ट्रिय शक्ति (चुनाव चिन्ह: मैनबत्ती) ले हानेपा/लौरो अभियान (लौरो) सँग मिली प्रादेशिक सभा निर्वाचनमा गठबंधन गर्दै ३३० जना आशलाग्दा उम्मेद्वार प्रतक्षमा खडा गर्ने । अनि, आवश्यक परे विभिन्न चिह्न लिन इच्छुक उम्मेदवारबीच सार्वजनिक बहस र प्राइमरी गर्ने । समानुपातिकमा आफ्नो आफ्नो पार्टीको सूची तयार गर्ने, किनकि माथि भनेझैं समानुपातिकमा अब एउटै चुनाव चिन्हमा जान असम्भव छ ।
अन्तमा: अहिले सम्म जे भयो भयो, सुधारका कयौं गुन्जायस थिए माथि उल्लेखित चारवटै घटक भित्र । तर समयको कमी भयो । अब ती सबै मानवीय र प्राविधिक कमजोरी र विगतका प्रतिद्वन्द्व बिर्सेर हामी सबै एकै ठाउँ उभिऔं, मनदेखि मिलौं अनि संघ र प्रदेश दुवैमा साझा उम्मेद्वारको सूची तयार गर्न तिर लागौं । नत्र पछि ढिला हुनेछ र स्वतन्त्र-वैकल्पिक राजनैतिक एकता वा गठबन्धनको साझा र सामूहिक अभियान "नो नट अगेन" अभियानमै मात्र सीमित हुनेछ ।
https://www.nepalitwa.com/detail/8696
https://www.nepalitwa.com/detail/8847