केही समयदेखि स्वतन्त्र सरकारको चर्चा चलेको पाइन्छ। स्वतन्त्र सांसदहरु संसदमा एक ठाउँ भेला भै सरकार बनाउन खोज्दा के होला? यसको परिकल्पना आवश्यक छ। त्यसको दृश्य हेर्न सायद अहिले सामाजिक सञ्जालमा दुई मेयर हर्क र बालेनको बहस र उनीहरूबीचको मनमुटावलाई हेरे पुग्छ । आफ्नै शुभचिन्तकहरुले हजार पटक भन्दा पनि नसुन्ने र उल्टो त्यसलाई आफ्ना शत्रु देख्ने हर्क साम्पाङ्ले ठाडै "इन्जिनियर-डाक्टर ले पनि राजनैतिक नेतृत्व गर्छ? नीति बनाउन सक्छ? हावा कुरा नगर हेर केटाकेटी हो; खुरुक्क मेरो पछि लाग्ने भए लाग, म भन्दा 'बेस्ट ' को हुन्छ? भनिसके । अब "नत्र प्रचण्डको साथ मलाई छ है!" भनेर नभन्लान् भन्न सकिन्न।
"यो ढुङ्गे युग हैन नि, विज्ञान प्रविधिको युगमा तपाईंको सोचले हामीले प्रगति गर्न सक्दैनौं। चीन, रसिया, कोरिया, सिंगापुर, भारत, अमेरिका हेर्नुहोस् । तपाईंको श्रमदानको अभियान ठिकै होला तर हामीले त्यो भन्दा धेरै माथि सोच्नु पर्नेछ।" भनेर ई. बालेन शाह, डा. अरनिको पाण्डे, ई. सागर ढकालहरुले भन्लान् । फेरि हर्क ले भन्लान्, "ल उसो भए आजलाई यत्ति गरौँ, मेरो विचार र क्षमता बुझ्न तपाईंहरुलाई वर्षौं लाग्नेछ। म हिँडे । आखिर प्रचण्डले जस्तो मलाई बुझ्ने कोही रैनछ।"
त्यसैले, हामीले नचाहँदानचाहँदै पनि स्वतन्त्र उम्मेदवार/सांसदलाई১ उचित पार्टीको लगाममा लैजान आवश्यक देखिन्छ । यस उद्देश्यका लागि पुराना दल समाधान होलान् भनी विश्वास गर्ने आधार पटक्कै भेटिंदैन। दलीय दलदलका बीच र प्रजातान्त्रिक आन्दोलनको नाममा विगतमा फोहोरी विद्यार्थी राजनीति, गृहयुद्धको आतंक आदि जे जस्तो भए पनि वर्तमानमा अलि अध्ययनशील, क्षमतावान, ऊर्जावान र प्रगतिशील नेता भनेर चिनिएका एकाध युवा नेताहरु समेत इमान्दारीको कसीमा चुक्दै गएको सर्वविदितै छ । यस अवस्थामा आउँदो आम निर्वाचनमा विभिन्न पेशागत क्षेत्र र भूगोलका स्वतन्त्र अभियानकर्मी र प्रत्यासी उम्मेदवारहरुले आफ्नो अगाडिका विशाल राजनैतिक चुनौती र अवसरलाई हृदयङ्गम गर्दै जिम्मेवार भएर नेपाल राष्ट्रको नेतृत्व गर्न तयार हुँदै गर्दा न त उनीहरूले पुराना दल बाट चुनावी टिकट पाउने सम्भावना छ न त ती पार्टीभित्र गएर सुसंस्कृत राजनीतिको पृष्ठपोषण गर्ने वातावरण नै छ ।
ई. बालेन शाह, हर्क साम्पाङ्, गोपाल हमाल पनि सर्वगुण सम्पन्न त हैनन् र यथार्थमा त्यस्तो कोही पनि नहोलान् पनि । तर उनीहरूको प्रयास र शैली (एकाध बोलीवचनका कमजोरीलाई बिर्सने हो भने) लाई हेर्दा हामीलाई चाहिएको संघीय र प्रादेशिक सांसद पनि यस्तै इमान्दार, निष्पक्ष, पारदर्शी र स्वतन्त्र पृष्ठभूमिका स्वावलम्बी नेता हुन् भन्नेमा दुई मत नहोला । दूरदर्शी, इमान्दार, सक्षम र मिहिनेती मानिसले ढिलाचाँडो अवश्य आफ्नो उद्देश्य प्राप्त गर्दछ।
महावीर पुन, भगवान कोइराला, गोविन्द केसी, सन्दूक रुईतहरु यस्ता सफल स्वतन्त्र अभियानकर्मीका केही उदाहरणहरू हुन् । यस्तै यस्तै बाटोमा हिँडेका दर्जनौं अन्य युवा पेशाकर्मी पनि आफ्नो सफल गन्तव्यतिर नजिकिँदै गरेको देखिन्छ । यसै बीच रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ र यसको राष्ट्रव्यापी सञ्जाल र जनलहर बढ्दो छ ।
यहाँ दलीय व्यवस्थाको विरोध गर्न खोजेको हैन (व्यवस्था हैन व्यक्ति र नियत ठीक हुन पर्ने रहेछ भन्ने विश्वले प्रमाणित गरेको छ) तर पुराना दलबाट चुनिएका निर्वाचित प्रतिनिधिको लागि संगठन र दलकाे सञ्जाल सहयोगी हुनपर्ने हो तर नेपालको सन्दर्भमा त्यो भएको पाइँदैन । कार्यकर्ताको रापतापमा दलबाट टिकेट पाएको सक्षम मान्छे पनि दलीय स्वार्थ र भ्रष्टाचारको जन्जिरमा कुहिरोको काग जस्तै हराएको वा बाटो बिराएको पाइन्छ । यस परिप्रेक्षमा इमान्दार कार्यकर्ता रहेको भरपर्दो वैकल्पिक राजनैतिक शक्ति को आवश्यकता जनताले अनुभूति गर्नु कुनै अनौठो कुरा भएन ।
स्थानीय तहको नेतृत्व स्वतन्त्र हुँदा ठिकै होला तर संसदीय प्रणालीमा स्वतन्त्र सरकारको प्रयास गर्नु भनेको हाम्रो जस्तो मानसिकता भएको राष्ट्रमा देशलाई झन् अस्थिरता र भड्खालोतिर लानु हो भन्ने बुझ्न पछि ढिला होला कि भन्ने चिन्ता स्वतन्त्र र वैकल्पिक समर्थक अभियानकर्मीहरुमा हुनु अस्वाभाविक हैन । साँच्चै धरान शहरले असल र मिहिनेती मेयर त पायो जसको समाजसेवा र विकासकाे काम हेर्न संसार अझै लालाहित छ; तर शान्त, शिक्षित, बहुसांस्कृतिक र एकताबद्ध आधुनिक समाजकाे परिचय बनाएको धरानले त्यो साख गुमाउँदैछ कि भन्ने डर लाग्दैछ । मेयर साम्पाङ्ले कसैको कुरा नसुन्ने देखिँदैछ (हितैषीका हिसाबले यस पंक्तिकारलेपनि धेरै प्रयास गर्यो) । आधुनिक लोकतन्त्रमा यो निकै डरलाग्दो अवस्था हो । सायद व्यवस्था नै पुरै भ्रष्ट भएर र त्यसैको विरुद्ध वर्षौं लडेर होला उनीसँग कता कता "नेगेटिभ सिन्ड्रोम" देखिन्छ वा उनको इगो यति धेरै छ कि त्यसैले उनलाई सानोसानो विवादलाई लिएर झन् झन् स्खलित गर्न सक्छ । पढेलेखेका सबैप्रति शंका र नकारात्मकता छ उनीसँग जस्तो भान हुन्छ उनका सोच र व्यवहार सुन्दा ।
हामीले के बिर्सनु हुन्न भने बल र बुद्धिको सभ्य र सन्तुलित संयोजनले मात्र नेपाललाई दिगो विकास र सफलताको गन्तव्यमा पुर्याउँछ । धरानको नेतृत्व अराजक हुँदै गरेको देख्दा भ्रष्टाचारको औषधि स्वरूप स्थानीय तहमा स्वतन्त्र नेताहरुको वकालत गरिरहेका धेरै व्यक्तिको स्वेच्छाचारितामा थोरै भए पनि लगाम लगाउन त पार्टी नै चाहिने पो रहेछ भन्ने निष्कर्षमा पुग्दैछन् ।
त्यसो हो भने, के स्वतन्त्र र वैकल्पिक उम्मेद्वार र सांसदले अपनत्व लिने र आवश्यक परेको बेला लगाम लगाउन सक्ने त्यस्तो पार्टी/संसदीय दल सम्भव छ? आफूले स्वतन्त्रहरुको समेत प्रतिनिधित्व गर्न सक्ने र सक्षम र इमान्दार स्वतन्त्र उम्मेदवारहरुलाई विना पार्टी सदस्य पनि आफ्नो निर्वाचन चिन्ह बाट चुनाव लड्न उत्प्रेरणा गरिरहेको "राष्ट्रिय स्वतन्त्र पार्टी" वा उसको नेतृत्वमा बन्न सक्ने "राष्ट्रिय स्वतन्त्र गठबन्धन" (नेसनल इण्डिपेन्डेन्ट एलायन्स) त्यस्तो राजनैतिक शक्ति हुन सक्ला ?