नोयडामा रहेका ‘सुपरटेक ट्विन टावर’ लाई आइतबार तीन हजार ७०० किलोग्राम विस्फोटक पदार्थको प्रयोग गरी भत्काइएको छ । अग्ला दुई गगनचुम्बी भवनहरूको निर्माण गैरकानुनी रहेको बताउँदै आइएको थियो । विश्व सम्पदा सूचीमा रहेको राष्ट्रिय राजधानीको ऐतिहासिक कुतुब मीनारभन्दा अग्ला भएका कारण यसले मीनारको महत्वलाई ओझेलमा पारेको थियो ।
भवन निर्माण गैरकानुनी रहेको भन्दै परेको मुद्दामाथि सुनुवाईपछि भएको फैसलामा सर्वोच्च अदालतले टावरहरू भत्काउन अनुमति दिएको थियो । अदालतको आदेशपछि अगस्ट २१ का लागि तय गरिएको यो काम नोएडा प्राधिकरणको अनुरोधमा २८ अगस्टसम्म लम्ब्याइएको थियो । भत्काइएका ३२ तल्ले एपेक्स र २९ तल्ले सियान नामक ती भवनहरू मीनारभन्दा १०० मिटर अग्ला थिए । दुई गगनचुम्बी भवनहरू भत्काउन कम्तीमा तीन हजार ७०० किलोग्राम वजनको विस्फोटक पदार्थ प्रयोग गरिएको बताइएको छ । कुतुब मीनार भारतको नयाँ दिल्लीको महरौलीमा अवस्थित इँटाबाट बनाइएको विश्वको सबैभन्दा ठूलो मीनार हो र यो विश्व सम्पदा क्षेत्रमा सूचीवद्ध रहेको छ ।
एउटा बटन थिचेर विस्फोट गराइएको नौ सेकेन्डपछि टावरको भग्नावशेष जमिनमा थुप्रो लागेको छ भने भवन भत्किँदा निस्केको धूलोले उक्त क्षेत्रको बस्ती र निकै माथि उचाइसम्म ढाकेको थियो । धुलो र विष्फोटबाट निस्केको धुँवाका कारण वरपरको वायुमण्डल प्रदूषित देखिएको छ । यद्यपि, उत्तर प्रदेश सरकारको वातावरण विभागले प्रदूषणको स्तर अनुगमन गर्न भत्काइएको स्थानमा ६ वटा विशेष धुलो मेशिन जडान गरेको छ ।
भत्काइएको ठाउँ नजिकैको क्षेत्रमा आकाश र जमिनको सतहमा रहेको धुलोलाई ‘एन्टी स्मोग गन’ले हावामा पानीका थोपाहरू छर्केर तल झारेको थियो । –घरभित्रै बस्न र मास्कको प्रयोग गर्न सबैलाई विज्ञको आग्रह– उत्तर प्रदेशको नोयडामा रहेको सुपरटेक ट्विन टावर भत्काइएपछि धुलोको बादल मडारिएको अवस्थामा स्वास्थ्य विज्ञले आसपासका क्षेत्रका बासिन्दालाई घरभित्र बस्न, ढोका बन्द गर्न र घरका झ्यालहरू बन्द राख्न, हावा शुद्ध पार्ने उपकरणहरू प्रयोग गर्न र घरबाहिर निस्कँदा एन–९५ मास्क लगाउन सुझाव दिएका छन् ।
भत्किएको सुपरटेक ट्विन टावरको भग्नावशेष जमिनमा खस्ने क्रममा आसपासमा धुलोको बादलसँगै उक्त क्षेत्र उजाड देखिएको छ । सेक्टर–९३–ए नजिकका अस्पतालहरूले सावधानीका उपायहरू अपनाउँदै आवश्यक परेको खण्डमा आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने तयारी गरेको बताएका छन् । सुपरटेक ट्विन टावर रहेको स्थानदेखि करिब चार किलोमिटरको दूरीमा रहेको फेलिक्स अस्पतालकी निर्देशक डा. रश्मी गुप्ताले आफूहरु कुनै पनि प्रकारको आपतकालीन अवस्थाका लागि पूर्ण रुपमा तयार रहेको बताइन् । डा गुप्ताले भनिन्, “म वरपरका मानिसहरूलाई घरभित्र बस्न, घरको ढोका र झ्याल बन्द गर्न, ‘एयर प्युरिफायर अन’ गर्न, बाहिर निस्कँदा एन–९५ मास्क लगाउन सुझाव दिन्छु ।”