कुश घरमा राख्नु र पूजामा प्रयोग गर्नुको पछाडि स्वास्थ्यलाभ प्रमुख कारण रहेको पाइएको छ । पूजाका क्रममा "कुशोदकम्" भनेर कुश डुबाएको पानी खाने चलन भएपनि आधुनिक नेपाली समाजमा स्वास्थ्यमा यसको लाभबारे जानकारी छैन । तर चिनियां बजारमा कुश एक महंगो जडिबुटी हो ।
चीनमा पीएचडी शोध गरिरहेका मेडिकल डाक्टर रमेशकुमार आचार्यले नेपालमा कुश फालाफाल पाइन्छ भन्ने जानकारी दिँदा चिनियांहरुले चीनमा आयात गर्न सकिने बताएको जानकारी दिए । आफ्नै बारीमा कुशको घाँस छ भनेको सुन्दा त चिनियांहरु आश्चर्यचकित हुने र पत्याउन गाह्रो मान्ने गरेको डा. आचार्यको अनुभव छ ।
यसरी चिनियांहरुले कुशबारी छ भन्नेमा आशंका गर्नुको पछाडि यसको भाउ महंगो हुनु नै भएको उनी बताउँछन् । कुश चीनमा सबभन्दा महँगो "ग्रीन टी" भएको र औषधीय तत्त्वहरु धेरै रहेकोले स्वास्थ्य समस्याहरुमा यसको अनेक किसिमले प्रयोग हुने गरेको उनको भनाइ छ । उनी चीनको उहान प्रयोगशालामा अनुसन्धानरत छन् र उनका शोधनिर्देशक ८२ वर्षीय प्राध्यापकले पनि "कुशोदक" सेवन गरिरहेको उनले नेपालीत्वलाई जानकारी दिए ।
कुशको चियापत्तीको भाउ नेपाली मुद्रामा वरिवर्तन गर्दा आधा किलोको ५० हजार रुपैयाँ पर्ने उनले बताए । बिहान १० ग्राम र बेलुका १० ग्राम कुश सेवन उपयुक्त रहेको उनले बताए । चिसै पानीमा डुबाएर त्यही पानी पिउने वा तातो पानीमा डुबाएर पानी थपीथपी पिउने चलन रहेको उनले जानकारी दिए । त्यसो त "लेमनग्रास" जस्तै गरी तरकारी र खानाहरुमा पनि कुश मिसाउन सकिने उनको भनाइ छ ।
कुशको पानी खाँदा ज्यान जाने डर पनि छ । पानी खाएर भने ज्यान जानै हैन नि ! पानीमा भिजाएर पिउँदा कुशको टुक्रा वा रेशा घाँटीमा अड्किएमा मानिसलाई बचाउन मुश्किल पर्ने वाल्मीकि विद्यापीठमा प्राकृतिक चिकित्सा पढाउने गुरुहरुले "कुशोदक" पढाउने बेलामा सचेत गराइरहेका हुन्छन् ।
मेडिकल हिसाबले यसमा 'एन्टी अक्सिडेण्ट प्रपर्टी" रहेको डा. आचार्य दावी गर्छन् । एन्टी अक्सिडेण्ट भनेको क्यान्सर हुन नदिने र बुढ्यौलीको गति घटाउने तत्त्व हो । उनका अनुसार यो चिनियां परम्परागत औषधि (टिसीएम- ट्रेडिशनल चाइनिज मेडिसिन) को एक प्रमुख बुटी हो । ग्यास्ट्राइटिस, ज्वलनको अनुभव, रजस्वला गडबडी, छालाको रोग र टाउको दुखेको अवस्थामा पनि यसलाई सेवन गर्न सकिने उनले बताए । यसबाहेक अन्य समस्यामा पनि कुशले लाभ पुग्ने उनले जानकारी दिए । व्यापारको सम्भावनाबारे सोधिएको एक प्रश्नमा नेपालीत्वलाई उनले जवाफ दिएका छन् । चीनको जस्तो औषधीय मूल्यबारे जानकारी फैलिएमा कुश राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारको एक प्रमुख औषधीय वस्तु बन्न सक्ने डाक्टर आचार्यको प्रक्षेपण छ ।