बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्रिपरिषद्मा सामेल गरेकी हुन्।
शाक्यले रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएकी छन् ।
यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन र चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन् ।
यसैगरी जीवन खड्काले भौतिक पूर्वाधार विकास, सरस्वती बाटीले उद्योग, पर्यटन, वन तथा वातावरण, जुनेली श्रेष्ठले सामाजिक विकास र बद्री मैनालीले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मन्त्री तथा राज्यमन्त्रीहरू सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।