महाधिवेशनको आठ महिनापछि पार्टी पदाधिकारी टुङ्ग्याउँदै नेकपा (माओवादी केन्द्र) ले केही महिनामै विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । आज चयन गरिएका पदाधिकारी मंसिर ४ को निर्वाचन लक्षित भएको जनाउँदै माओवादी नेतृत्वले निर्वाचनपछि पदाधिकारीको टुंगो लगाउन विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
आठ महिनाअघिको महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गर्दै बाँकी निर्वाचनको जिम्मा अध्यक्षलाई नै दिएपछि उनले निर्णय गर्न नसकेकोले ८ महिनासम्म पदाधिकारीको टुंगो लाग्न नसकेको हो । अब विशेष महािधवेशन बोलाएर पदाधिकारी चयनको अन्तिम निर्णय गर्न दिने तयारी गरिएको छ ।
गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी राख्ने निर्णय गरेको थियो तर स्थायी समितिको आजको बैठकले २१ पदाधिकारीको व्यवस्था गरेको छ ।
स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गरेको प्रस्ताव सर्वसम्मत पारित भएको नेता रमेश मल्लले जानकारी दिए ।
पार्टीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष तथा देवप्रसाद गुरुङलाई महासचिव बनाइएको छ ।
सात जना उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भूषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र नौ सचिवमा मातृकाप्रसाद यादव, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की चयन हुनुभयो । माओवादी केन्द्रले कोषाध्यक्षमा श्रीराम ढकाल चयन गरेको छ ।
यसैबीच माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ ।