अमेरिकी अन्तरिक्ष संस्था- नासाले सन् २०२५ को शुरुमै पहिलो महिला सहित २ जनालाई चन्द्रमामा पठाउने घोषणा गरेको छ । आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतह अध्ययन गर्न पठाउने घोषणा नासाका एक प्रशासक मार्क किरासिचले गरेका हुन् । सन् १९७२ मा एपोलो यान पठाएको ५० वर्षपछि नासाले पहिलो महिला चन्द्रयात्री समेत पठाएर चन्द्र सतहको अध्ययन अघि बढाउने भएको हो ।
चन्द्र अध्ययनका लागि चन्द्रमामा रहेको दक्षिणी ध्रुवका १३ वटा स्थान पहिचान गरिसकिएका छन् । यो कार्यक्रमलाई ‘आर्टेमिस’ नाम दिइएको छ । सन् १९७२ मा नील आर्मस्ट्रङले अध्ययन गरेको भन्दा भिन्नै ध्रुवमा पुगेर अध्ययन गर्न आर्टेमिस पठाइँदैछ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति रहेका बेला नासाले चन्द्रमाको सतहमा मानिस फर्काउने महत्वाकांक्षी योजना उद्घोष गरेको थियो । सोही घोषणा अनुसार नासाले धमाधम रकेट क्याप्सुल लगायत विमानहरुको परीक्षण गरिरहेको छ । किरासिचका अनुसार आर्टेमिस नासाको एक विशाल छलाङ हुनेछ । मानिसले बेवास्ता गरेको चन्द्र सतहमा दीर्घकालीन बस्ती बसाउनेबारे अध्ययन गरिने उनले बताए ।
विगतमा एपोलो यानहरुले गरेको अध्ययनभन्दा विपरीत दिशामा रहेका १३ ठाउँको अध्ययन आर्टेमिस कार्यक्रमले गर्नेछ । बरफको ढिक्कामा रहेका ठाउँहरुमा पानीको उपलब्धता र सतहको अवस्थाबारे यो कार्यक्रमले अध्ययन गर्नेछ ।
चीनको लक्ष्य पनि अन्तरिक्ष यात्रीलाई चन्द्रसतहमा पठाउने नै भएकोले अमेरिकाले अपरिहार्यताको भाव लिएर काम गरिरहेको वाशिङटन पोष्टले जनाएको छ । नासाले सन् २००९ मा पठाएको रोबोट अन्तरिक्ष यानले खिचेर ल्याएका तस्वीरका आधारमा थप अध्ययन गर्ने काम भैरहेको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवस्थित ६ डिग्री अक्षाँशमा रहेको विशिष्ट साइटमा चन्द्रयात्रीहरुले साढे ६ दिन बिताउने नासाले बताएको छ । त्यहाँको बरफको गहिराइ र संरचनाबारे सो अवधिमा सूचना सङ्कलन गरिनेछ ।
आर्टेमिस मिसनको घोषणा यही अगष्टको २९ तारिकमा गर्ने नासाको तयारी छ । यो मिसनमा ओरायोन क्रु क्याप्सुलमा राखेर मानिस पठाइने जनाइएको छ । चन्द्रयात्रामा जानेमध्ये एक महिला र एक गैरस्वेत (कलर) अमेरिकी पुरुष रहनेछन् । यो ४२ दिन लामो मिसनले चन्द्रमाका चारैतर्फका कक्षको अध्ययन गर्नेछ । चन्द्रमामा बस्ती बसाउने सम्भावनाको अध्ययन नै आर्टेमिस मिसनको प्रमुख उद्देश्य हो ।नेपालीत्व डेस्क