व्यवस्था पनि संविधान पनि सबै परिवर्तनीय हुन्छन् । आजको खुल्ला प्रजातन्त्रमा राष्ट्रघात बाहेक सबैले व्यवस्थालाई लिएर आ-आफ्नो प्रस्ताव गर्न सक्दछन् । अबको लड़ाइँ प्रमुख रुपमा सुशासन, पूर्वाधार विकास, मौलिकताको आधुनिकीकरण वा जगेर्ना, अनि आर्थिक समृद्धिद्वारा अवस्था परिवर्तनका लागि हो । यद्यपि, गहन अध्ययन, अनुसन्धान, वैज्ञानिक आधार र समग्रमा ऋषिमन बिना र नीतिगत विषयमा बहस चलाउनै नसक्ने योग्यता भएका सभासद र नेताको लहैलहैबाट अवस्थामा परिवर्तन आउन सक्दैन ।
हालैका वर्षमा कुशासनबाट मुक्ति र परिवर्तनका लागि विज्ञ, नागरिक समाज र समग्र जनताको आवाज ठूलो हुँदै गएको पाइन्छ । व्यवस्था र संविधानको सुधारको विषयमा बोल्न हालकै संविधानले पनि दिएको छ । यस सन्दर्भमा "मोही माग्ने ढुंग्रो लुकाउने" काम कसैले पनि नगरी आफ्नो आफ्नो लाइन (विचार, कार्यदिशा, कार्यक्रम) प्रष्ट पार्दै आउँदो निर्वाचनमा त्यसलाई प्रस्ताव गर्दै जनताबाट अनुमोदित गर्ने प्रयास गर्नु नै उन्नत लोकतान्त्रिक अभ्यास हो ।
पुराना शक्तिहरु जनताको चाहनाभन्दा पनि सीमित नेताहरुको चाहनामा सञ्चालन भैरहेको र संविधान र कानूनलाई आफ्नो वा गुटको स्वार्थका लागि मात्रै प्रयोग गरिरहेको आम गुनासो छ । विद्यमान शक्तिहरुबाट जनचाहना सम्बोधन हुन नसक्ने र न्याय समेत सजिलै नपाइने कुरा जनजनमा स्थापित भैरहेको छ । यस अवस्थामा राष्ट्रिय शक्ति बन्ने अभिलाषा राखेका स्वतन्त्र र वैकल्पिक भनिएका शक्तिहरुले विशेष गरी यो विषयलाई गम्भीरताका साथ आत्मसात गर्दै आफ्नो स्वार्थ हैन कि देशको स्वार्थका लागि परिवर्तन हुन र गर्न तयार हुनु पर्दछ ।
परिवर्तन र रुपान्तरणको कुरा गरिरहने डा. बाबुराम भट्टराईले आफ्नो (नेपाल समाजवादी पार्टीको) लाइन समयमै प्रष्ट गरेका छन् । उनी आफ्नै पुरानो घर माओवादी केन्द्रको पिँढीमा ओत लाग्न पुगेका छन् । त्यसैगरी रवीन्द्र मिश्र पनि व्यक्तिगत रुपमा निकै प्रष्ट छन्, जसलाई कसैले साहसिक कदम त कसैले विचलनको रुपमा विश्लेषण गरेको पाइन्छ । तर मिश्रले स्थापना गरेको विवेकशील साझा भनिएको पार्टीको लाइन के हो? त्यो स्पष्ट हुन जरुरी छ। त्यसैको आधारमा उक्त पार्टीका युवा र विज्ञ नेताहरुको ध्रुवीकरण अझै छिटो होला - अर्थात्, त्यो स्पष्टताले कि त विवेकशील साझालाई राजावादी राप्रपा सँगको एकीकरण वा गठबंधनमा पुर्याउला अथवा अरु गणतन्त्रवादी वैकल्पिक-स्वतन्त्र शक्तिहरुको गठबन्धनको एक महत्वपूर्ण अंश बनाउला ।
सोही पार्टीकी नवनिर्वाचित अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा भित्रको उक्त ध्रुवीकरणको सफल नेतृत्व गर्न सकून् भन्ने शुभकामना छ । त्यसो भन्दै गर्दा यदि कसैले "हामीलाई जुन व्यवस्था भए पनि केही छैन, बस् राजनैतिक नेतृत्व र देशको अभिभावकसँग ठीक नियत, विकासको दूरदृष्टि, इच्छाशक्ति र क्षमता भए पुग्छ" भन्छन् भने, त्यसलाई पनि आफैँमा एउटा राजनैतिक दृष्टिकोण (एकतावादी दर्शन) मान्नु पर्दछ । यसलाई ढुल्पुले वा दहीचिउरे प्रवृत्ति वा प्रष्टता नभएको 'आलोकाँचो' नेतृत्व वा गैरराजनैतिक शक्ति भनियो भने त्यो अर्को प्रकारको राजनैतिक जडसूत्रवाद हुन सक्छ ।
विकसित जापान, बेलायत, अष्ट्रेलिया, कोरिया, सिंगापुर, चीन, भारत, अनि अमेरिकी, युरोपियन, अरब र अफ्रिकी राष्ट्रहरुलाई मिहिन ढंगबाट हेर्ने हो भने व्यवस्थाकै कारण राष्ट्रको विकास र स्थायित्व रोकिएका वा जनताको खुसी खोसिएका उदाहरण आजको आधुनिक युगमा नगण्य होलान् । यस परिप्रेक्षमा, घण्टी चुनाव चिह्नसहित रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा./ आर.एस.पी.) ले परिवर्तन र रूपान्तरणको आवाज बुलन्द गर्दै एक-दुई महिना भित्रै नेपालको राजनीतिमा नयाँ लहर र उभार ल्याइरहेको देखिन्छ । यसलाई आफैँमा एउटा 'मास-बेस्ड प्रोग्रेसिभ लिबरल डेमोक्रेसी’ को रोचक राजनैतिक प्रयोग मान्न सकिन्छ ।
रा.स्व.पा. स्वतन्त्र र वैकल्पिक राजनैतिक नीतिनिर्माणकर्ता बन्न चाहने हरेक विज्ञ, युवा तथा आम नागरिकको लागि एउटा "खुल्ला प्लाटफर्म" बन्ने दिशामा अग्रसर भएको पाइन्छ । स्वतन्त्र र वैकल्पिक नेता र दलहरुको ध्रुवीकरण सँगै रा.स्व.पा. नै हामीले भन्दै आएको वास्तविक स्वतन्त्र-वैकल्पिक राजनैतिक एकता अभियान ('राष्ट्रिय स्वतन्त्र गठबन्धन'/'नेसनल इन्डिपेन्डेन्ट एलायन्स') को मियो बन्न सक्ने देखिन थालेको छ ।
यस सँगै अन्य वैकल्पिक दलका कुकुर, तराजु, आमाको काख, लौरो, पुस्तक, मैनबत्ती लगायत चुनाव चिन्हबाट आफूलाई चिनाउन इच्छुक नेता साथीहरु र स्वतन्त्र उम्मेदवारहरु एउटा बिन्दुमा पुगेपछि रा.स्व.पा.को संयोजकत्वमा सहकार्य गर्नुको ठोस विकल्प देखिँदैन । तर उक्त दिशामा सबैलाई प्रेरित गर्न र राजनैतिक नेतृत्व समायोजनको कौशल देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीले आवश्यक गृहकार्य र आह्वान गर्न ढिला भने गर्नु हुँदैन ।
यदि प्रस्तावित स्वतन्त्र गठबन्धन सफल हुने हो भने, आउँदो चुनावमा तलका तीनवटा शक्तिहरुबीच रोचक प्रतिस्पर्धा हुने दिशामा नेपालको राजनीति जानेछ । १. नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक-वाम-समाजवादी गठबन्धन, २. एमाले नेतृत्वको वाम-लोकतान्त्रिक-समाजवादी गठबन्धन, ३. रास्वपा नेतृत्वको स्वतन्त्र-वैकल्पिक राजनीतिक गठबन्धन वा राष्ट्रिय स्वतन्त्र गठबन्धन । चरम निराशाबीच जनताले विकल्प खोजिरहेको जस्तो देखिने अहिलेको नेपालको विशिष्ट अवस्थामा यस सूचीमा तेस्रो स्थानमा राखिएको शक्ति आम निर्वाचनमा पहिलो भयो भने कुनै अनौठो हुने छैन ।
पुराना गठबन्धनले आफ्नो सोचविचार र कामबार्बाही यथावत् राखेका र उनै नेताहरुको नियन्त्रणमा पार्टीहरु रहिराखेको कारणले पनि स्वतन्त्र पार्टी वा गठबन्धन छान्न जनतालाई सहज विकल्प हुन सक्छ । जनताले परीक्षित पुराना शक्तिभन्दा जोशिला युवा खोजेको छनक हालैको स्थानीय निर्वाचनमा दिइसकेकोले होशियारीपूर्वक अघि बढेमा माथि भनिएको ३ नम्बरको गठबन्धन पहिलो बन्न असम्भव देखिँदैन । सत्ताको लुछाचुँडी, पार्टीभित्रको खिचातानी र फोहोरको राजनीति जस्ता कुराले पनि मानिसहरु आजित भैरहेको अवस्था देखिएकोले मतदानको परिणाम विद्यमान पुराना शक्तिले गरेको स्थानीय चुनावको मतको लेखाजोखाभन्दा नितान्त बेग्लै नआउला भन्न सकिन्न ।