संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालासँग आज छलफल गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षालगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठीयारका साथै अन्य सरोकारवालासँग छलफल गरेका हुन् ।
काठमाडौँवासीको महत्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापीरूपमा चिनाए पर्यटन उद्योगको विकासमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए । इन्द्रध्वजोत्थान पर्व राष्ट्रिय संस्कृतिका रूपमा विकसित भएको बताउँदै उनले इन्द्रजात्रा अवलोकनमा सहभागी हुनेलाई सहज हुनेगरी सबै प्रबन्ध गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति, मन्त्रीहरु र नगरवासीहरु उपस्थित भई इन्द्रध्वजोत्थान गर्ने गरिन्छ । साथै विश्वका विभिन्न सहरका मेयरसहित विदेशी पाहुनालाई पनि निमन्त्रणा गरिएको छ ।
इन्द्रजात्रासँगै गणेश, भैरव र कुमारीको रथयात्रा, नाचगान, झाँकी व्यवस्थापनका साथै ट्राफिक र सुरक्षा व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । नेपाली मौलिक मूर्त–अमूर्त संस्कृति जीवन्त राख्ने र विश्वमा नै यसको महत्व फैलाउने अवसरका रूपमा इन्द्रजात्रालाई लिनुपर्ने उनको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले इन्द्रजात्रा व्यवस्थापनमा महानगरपालिकाले गरिरहेको कामबारे जानकारी दिए । साहले संस्कृति र सम्पदा क्षेत्र संरक्षणका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्ने बताए ।
आठ दिनसम्म मनाइने इन्द्रजात्रा पर्वमा वसन्तपुर क्षेत्रमा पुलकिशी, श्वेत भैरव, आकाश भैरव, इन्द्र, गणेश, कुमारीलगायतको जात्रा देखाइनेछ । कुमारी, गणेश र भैरवको रथारोहण, देवी र लाखे नाच प्रदर्शनलगायत उत्वस गरिनेछ । राष्ट्रप्रमुख जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्दा देशमा सुख, शान्ति हुन्छ भन्ने मान्यता रहेको छ ।