नियमितरुपमा फोहोर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ ।
कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने र एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहाेर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहाेर र घरबाट निस्केको फोहाेरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फाल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन ।
फोहाेरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आएका रमिता लामाको भनाइ छ । उनकाे अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहाेरका गाडी आएका छैनन् । कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहाेरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्ना साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ ।
कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फोहाेर थुप्रिएकाले दैनिक जनजीवनमा असर परेको छ । कलङ्की, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहाेर सडक किनारामा हुँदा थुप्रिदा समस्या भएको हो । आजदेखि फोहाेर व्यवस्थापन यही साउन २२ गते काठमाडौँ उपत्यकाबाट फोहाेर बोकेर अन्तिम व्यवस्थापन स्थल जाने क्रममा सिसडोलवासीले गाडी तोडफोड गरेपछि व्यवस्थापन हुन नसकेको फोहाेर आजदेखि पुनः सुरु भएको छ ।
काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले कहिले स्थानीयवासीको अवरोध, कहिले बाटोका कारण त कहिले गाडी तोडफोड हुँदा फोहाेर व्यवस्थापनमा समस्या आएको र आगामी दिनमा अन्य अवरोध सिर्जना नभए नियमितरुपमा फोहाेर व्यवस्थापन हुने बताउछिन् । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाबाट उत्पादित कुहिने फोहाेर व्यवस्थापनका लागि स्थान पहिचानको काम भइरहेको पनि कामपाले जनाएको छ । कामपाले अन्य स्थानीय तहसँगको सहकार्यमा कुहिने फोहाेरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।
उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहाेर व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहाेर व्यवस्थापन गर्न सकिनेछ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ । योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहाेर बञ्चरेडाँडा पुर्याउँदा पटकपटक समस्या आएकाले प्रभावकारीरूपमा फोहाेरको दीर्घ समाधानका लागि स्थान पहिचानमा समय लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको छ ।
कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल अन्य सम्भावित स्थान पहिचान गर्ने काम पनि जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपाका साथै अन्य स्थानमा पनि महानगरप्रमुख बालेन्द्र शाहको नेतृत्वमा जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको पनि उनले बताए ।
फोहाेर स्रोतमै वर्गीकरण प्रभावकारी भएन र फोहाेर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि कामपाले यही साउन एक गतेदेखि स्रोतमा नै फोहाेर वर्गीकरण गरी कुहिने र नकुहिने फोहाेर फरकफरक तरिकाबाट व्यवस्थापनको काम सुरु गरेको थियो । सुरुका केही दिनमा वर्गीकरण गरिएको फोहाेर व्यवस्थापन गरिए पनि अहिले सबै किसिमका फोहाेर एकै भाँडोमा राखेर आउने गरेको कामपाकै भनाइ छ । यसलाई आगामी दिनमा प्रभावकारी बनाउनका लागि नियमित अनुगमन गरी फोहाेरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना गर्ने तयारी गरिएकोे छ ।
कामपाको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहाेर व्यवस्थापन हुँदै आएको छ । फोहाेर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ । कामपाले मात्रै फोहाेर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहाेर व्यवस्थापन भइरहेको छ । निजी संस्थाले फोहाेर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहाेर व्यवस्थापन हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।