रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाइँकुण्ड आइपुगेका छन् ।देशभरवाट जनैपूर्णिमा मनाउनका लागि १० हजारभन्दा बढी भक्तजन बिहिवार अवरेसम्म गोसाइँथान आइपुगेका हुन् ।
कोरोना महामारी न्यूनीकरण भएपछि पहिलो पटक यति ठुलो संख्यामा भक्तजन गोसाईकुण्ड आईपुगेको स्थानियले जनाएका छन । भक्तजनको स्वास्थ्यमा समस्या नदेखियोस र उचाईका कारण लेक लागेका बिरामीलाई उपचार गराउन लौरीविनायकमा रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार संघबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेका छन् ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुन सक्ने जोखिम न्युनीकरण गर्नका लागि र भक्तजनलाई लेक लाग्न सक्ने भएको कारण पनि सो बारेमा जानकारी दिन र उपचारका लागि स्याफ्रुबेँसीस्थित श्यामेवाङ्फेल माविका जुनियर रेडक्रस सर्कल परिचालित गरिएको छ । समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको कुण्डमा आउने तिर्थालुको हेरचाहका लागि नेपाल प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेना पनि खटिएका छन ।
समुन्द्र मन्थनको क्रममा बिष पिएका महादेव शिवले यही स्थानमा आएर त्रिशुल गाडे पछि गोसाईकुण्ड उत्पति भएको धार्मिक विश्वास रहदैँ आएको छ । समुन्द्र मन्थको क्रममा उत्पत्ति भएको विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव निलाद्री पर्वतमा आई त्रिशुल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेको भन्ने धार्मिक मान्यता रहदै आएको छ ।
सोही कुण्डमा भगवान शिवले विषको डाह शान्त पारेकाले गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ ।