दिवङ्गत आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न र मौलिक शैलीमा मनाइन्छ ।
भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गमको पर्वको रुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वको रुपमा समेत गाईजात्रालाई लिने गरिन्छ । मृतकका घरबाट गाईजात्रा निकाल्दा आफन्तजनले मृतकको सम्झनामा रुनु पर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगर परिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ । भक्तपुरको गाईजात्रा हेर्न उपत्यकाकालगायत बनेपा, धुलिखेल र पनौतीलगायतका सहरबाट समेत हजारौंको सङ्ख्यामा दर्शक आउने गर्दछन् । भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात छ ।
भक्तपुरमा गाईजात्राको औपचारिक सुरुआत जनै पूर्णिमाको साँझ नै गरिन्छ । जनै पूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा ओलीले बताए । जनैपूर्णिमाको साँझ शुरु भएपनि सर्वसाधारणले मुख्यरुपमा भाद्र शुक्ल प्रतिपदाको दिन सापारु अर्थात् गाईजात्रा मनाउने गर्दछन् ।
भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन बिहान सबेरै दरवार क्षेत्रस्थित तलेजु भवानीको र अन्त्यमा साँझ टौमढीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा रहेको छ । भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो भने अर्को आकर्षण मृतकको सम्झनामा नगर परिक्रमा गरिने ताहासा (तहामचा) हो । घिन्ताङघिसी नाचसँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास रहेको छ । घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि वृद्ध सबै सहभागी हुन्छन् ।
ताहासा चारवटा बाँसबाट बनाइन्छ । हरियो करिब १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयाताकारमा बाँधी त्यसलाई कपडाले बेरेर ताहासा बनाइन्छ । ताहासाको शिरमा गाईको चित्र राखी महिला र पुरुषको सङ्केत जनाउन कपडाले बेताली बाँधिन्छ । त्यसमा परालको सिङ र सिङ माथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको प्वाङ्ख र रङ्गीचङ्गी फुलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गीन माथि गोलाकार तर झण्डाजस्तो देखिने) सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतीक खास्तो राखी छाता ओढाइन्छ । ताहासाको बीचमा जामाचा लगाई लामो दुईवटा पटुका बाँधिन्छ । अगाडि पछाडि मृतकको तस्बिर, भगवानको तस्बिरसहित ऐना राखिन्छ । भक्तपुरमा कुमालेले भने मृतकको आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउने गर्छन् ।