मध्यपश्चिमाञ्चल विश्वविद्यालयले संस्कृतिविद् सत्यमोहन जोशीलाई मानार्थ विद्यावारिधि उपाधि दिने भएको छ । जोशीलाई उनको नेतृत्वमा कर्णालीको ऐतिहासिक सिञ्जा क्षेत्रको संस्कृति, भाषा, भूगोल, जनजीवन र मानवशास्त्रीय अध्ययन गरेबापत विद्यावारिधि उपाधि दिन लागिएको हो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका अनुसार विश्वविद्यालयको प्राज्ञिक परिषद्को स्थायी कमिटीको बैठकद्वारा संस्कृतिविद् जोशीलाई मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गर्ने निर्णय भएको हो ।
उपकुलपति प्रा.डा. सिंहले भने, ‘वि. सं. २०२७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट संस्कृतिविद् जोशीको नेतृत्वमा पाँचजना विभिन्न विधाका प्राज्ञिक व्यक्तित्वहरूले कर्णालीको सिञ्जामा क्षेत्रगत अध्ययन गरी कर्णालीको भाषा, संस्कृति, जनजीवन, भूगोलका विषयमा गहन अध्ययन गरी कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो योगदान गरेबापत सम्मानस्वरूप उहाँलाई विद्यावारिधिको उपाधि दिने निर्णय गरिएको हो । कोभिडको प्रभाव कम हुनेवित्तिकै उहाँलाई विश्वविद्यालयमा आमन्त्रण गरी यही वर्षभित्र उपाधि दिने योजना छ ।’
२०२७ सालमा संस्कृतिविद् जोशीको नेतृत्वमा स्थीर जंगबहादुर सिंह, विहारीकृष्ण श्रेष्ठ, चूडामणि बन्धु र प्रदीप रिमालले सिञ्जा खोलामा करिब पाँच महिना बसेर क्षेत्रगत अध्ययन गरेका थिए । यी पाँचैजना प्राज्ञहरूले लोक संस्कृति, भाषा, भूगोल, जनजीवन र मानवशास्त्रीय अध्ययनका विषयमा गरेको क्षेत्रगत अध्ययनलाई सम्पादन गरी प्रज्ञा प्रतिष्ठानले पाँचवटै भाग पुस्तक प्रकाशन गरेको थियो । यी पुस्तकलाई २०२८ सालको ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो । यी पाँचवटा कृतिका लागि कुनै प्रतिस्पर्धा नै भएको थिएन । १०१ वर्षीय संस्कृतिविद् जोशी तीनपटक ‘मदन पुरस्कार’ प्राप्त गर्ने एक मात्र नेपाली स्रष्टा हुन् ।