पूर्ण सरकारी स्वामित्वको संस्थान नेपाल टेलिभिजनमा ९७ जना भर्ना गर्न लोक सेवा आयोगले परीक्षा कार्यक्रम प्रकाशित गरेको छ । साथै परीक्षा केन्द्र पनि निर्धारण गरिएको आयोगले जनाएको छ ।
पूर्वप्रकाशित विज्ञापनअनुसार विभिन्न पदहरुको खुला, समावेशी र आन्तरिक प्रतिस्पर्धाको लिखित परीक्षा तालिका प्रकाशित गरिएको हो ।
२०७६ माघ १० गते विज्ञापित पदहरुको परीक्षा कोभिड १९ को लकडाउनका कारण स्थगित गरिएको थियो । पाँचौं तहदेखि नवौं तहसम्मका पदहरुमा यही साउन ३० गते बिहान ७:३० देखि परीक्षा सञ्चालन हुने जनाइएको छ ।
भदौ १३ गतेसम्म सञ्चालन हुने तालिकामा क्यामराम्यान, वरिष्ठ सहायक ध्वनि नियन्त्रक, व्यापार प्रवर्धक, सहायक लेखा, समाचार सम्पादक, प्रशासन अधिकृत, वरिष्ठ सम्पादक, कार्यकारी सम्पादक र प्रमुख समाचार सम्पादक लगायतका पदहरुमा परीक्षा लिन परीक्षा केन्द्र तोकिएको छ ।
धेरै उम्मेदवार रहेका प्रशासन र प्राविधिक सहायक पदको परीक्षा केन्द्र पछि तोकिने र बाँकीको परीक्षा लोक सेवा आयोग अनामनगरमा परीक्षा केन्द्र तोकिएको छ । यो तालिका लोक सेवा आयोगको वेबसाइटमा राखिएको छ । यो लिंकमा तालिका हेर्न सकिनेछ: https://psc.gov.np/assets/uploads/files/Exam_Scheduling_NTV_2079-03-31.pdf
परीक्षार्थीहरु सबैले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा नेपाल टेलिभिजनको वेबसाइटमा गई विद्यतीय विधिबाट कोभिड सम्बन्धी स्वघोषणा फाराम अनिवार्य रुपमा भर्नु पर्ने लोक सेवाले जनाएको छ ।