हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर (normal position) स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।
"बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम र प्रदेश १का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ", महाशाखाले भनेको छ ।
अर्कोतर्फ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकै बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा अति वर्षा भइरहेको जनाएको छ ।
भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सतर्कता मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ ।
‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुवान भईरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं,’ महाशाखाले आज विज्ञप्ति मार्फत भनेको छ ।