अमेरिकाले आवाजको गतिभन्दा पाच गुना तीव्र गतिको हाइपरसोनिक क्षेप्यास्त्त्रको सफलता परीक्षण गरेको छ । यो क्षेप्यास्त्रले ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सक्छ ।
रेथियोन टेक्नोलोजी कर्पोरेशनले एयर–ब्रेथिङ हाइपरसोनिक कन्सेप्ट परियोजना अन्तर्गतको क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ ।
सन् २०१३ पछि अमेरिकाको यस प्रकारको यो तेस्रो सफल परीक्षण रहेको रोइटर्स समाचार संस्थाले जनाएको छ ।
विद्यमान ब्यालिस्टिक क्षेप्यास्त्र भन्दा बढी शक्तिशाली र विपक्षीको आक्रमणलाई तीव्र गतिमा प्रत्याक्रमण गर्ने क्षमता हाइपरसोनिक क्षेप्यास्त्रमा रहेको हुन्छ । हाइपरसोनकि क्षेप्यास्त्रले तीव्र गतिमा जाँदाजाँदै बाटो बदलेर समेत प्रहार गर्न सक्छ ।
हाल अमेरिका, रूस र चीनले हाइपरसोनिक क्षेप्यास्त्रको अनुसन्धान र विकास गरिरहेका छन् । यस्तो हतियार दुई प्रकारका छन् । एउटाको नाम हाइपरसोनिक ग्लाइड भेहिकल हो । यो रकेटबाट प्रहार गरिन्छ र पछ रकेटबाट अलग भै निशानामा मार हान्छ । अर्को हाइपरसोनिक क्रुज मिसाइल हो । यो एयर ब्रेथिङ इन्जिनबाट क्षेपण हुन्छ ।
अमेरिकी सेनाले सन् २०२२ का लागि हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्न ३ अर्ब ८० करोड डलर र अनुसन्धानका लागि अर्को २४ करोड ६९ लाख डलर माग गरेको भोइस अफ अमेरिका (भीओए) ले उल्लेख गरेको छ । रसियाले गत मार्च १९ मा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । चीनले सन् २०१६ देखि सन् २०२१ को बीचमा सयौं हाइपरसोनिक हतियार परीक्षण गरिसकेको छ । उत्तर कोरियाले गत जनवरी ५ मा यस्तो हतियार परीक्षण गरेको दावी गरेको थियो ।
हाल अस्ट्रेलिया, भारत, फ्रान्स, जापान र जर्मनीले यस्तो हतियार विकास गरिरहेको र इरान, इजरेयल र दक्षिण कोरियाले आधारभूत अनुसन्धान सम्पन्न गरेको पनि भीओएले जनाएको छ ।