काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग अभियुक्त इच्छाराज तामाङलाई छुटाउन मोलमोलाइ गरेको आवाज बाहिरिएका अधिवक्ता रुद्रप्रसाद पोखरेलका नाउँमा नेपाल कानून व्यवसायी परिषदले सात दिने म्याद जारी गरेको छ ।
झापा जिल्ला जुरोपानी-८ स्थायी ठेगाना भई हाल उच्च अदालत बार एसोसिएशन पाटनका सदस्य पोखरेलले कानून व्यवसायको सिलसिलामा मोलमोलाइ गरेको उजुरी र कारबाहीको प्रतिवेदन प्राप्त भएको परिषदले जनाएको छ ।
कानून व्यवसायीको आचारसंहिता, २०५१ विपरीत कार्य गरेकोले कारबाहीको प्रतिवेदन प्राप्त भएको सन्दर्भमा अनुशासन समितिको नियमावली बमोजिम सूचना प्रकाशित गरिएको म्यादमा उल्लेख छ ।
आजका मितिले सात दिनभित्र जवाफ पेश गर्न परिषदले गोरखापत्रमा सूचना निकालेको हो । उनी र न्यायाधीश कोइरालाबीच १० करोड रुपैयाँ लेनदेन गर्ने र त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पनि मिलाउने पोखरेलले बताएका थिए ।
पोखरेलको जवाफपछि परिषदले उनको अधिवक्ताको प्रमाणपत्र खारेज गर्नेसम्मको निर्णय हुन सक्नेछ । न्यायाधीश कोइरालामाथि न्यायपरिषदको छानबिन समितिले छानबिन गरिरहेको छ । टेलिफोनमा उनले अभियुक्त इच्छाराजलाई धरौटीमा रिहा गरिदिने तर लेनदेनको कुरा मिडियामा "छ्याल्लब्याल्ल" हुन नहुने बताएका थिए ।
पोखरेलले सोही अडियो रेकर्ड सुनाएर इच्छाराजबाट रकम लिएको तर उनी नछुटेको कारण इच्छाराजको परिवारबाट अडियो रेकर्ड सार्वजनकि गराइएको हो ।
इच्छाराज तामाङले सिभिल सहकारीमार्फत् सयौं व्यक्तिलाई ठगेको अभियोगमा पक्राउ गरी मुद्दा चलाइएको अवस्थामा अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुसमार्फत् रिहा गराउन मोलमोलाइ भएको कुराकानीको रेकर्ड बाहिरिएको थियो ।