सूर्य र चन्द्रमाकाे गतिलाई आधार मानेर समयकाे गणना गरिन्छ । सूर्य दक्षिणतिर सर्दै गएको अनुभव हुने ६ महिनालाई साैर दक्षिणायण र उत्तरतिर सर्दै गएकाे अनुभव हुने ६ महिनालाई साैर उत्तरायण भनिन्छ। यस्ताे पृथ्वीकाे ढल्काइले गर्दा हुन्छ।
आजभन्दा ३४०० वर्ष अघि श्रावण २३ देखि सूर्य दक्षिणतिर सर्न थाल्ने हुन्थ्याे (वेदाङ्गज्याेतिष, श्लाे ७-८) भने १५०० वर्ष अघि श्रावण १ गतेदेखि सूर्य दक्षिण तिर सर्न थाल्ने हुन्थ्याे (नवीन सूर्यसिद्धान्त १४।९)। याे दिन (उत्तरायण थालिने दिन र दक्षिणायन थालिने दिन) नक्षत्रका अपेक्षामा र निरयण राशिका अपेक्षामा सर्दै-सर्दै सँधैँ अगाडि-अगाडि आउँछ।
सूर्यसिद्धान्तअनुसारको पात्रोको गणनाअनुसार ६० वर्षमा १ दिन वर आउने गर्छ (सूक्ष्म गणनाअनुसार ७२ वर्षमा १ दिन वर आउने गर्छ)। त्यसैले दक्षिणायन हुने समय गत १५०० वर्षका अवधिमा श्रावण १ बाट सर्दैसर्दै आजसम्ममा २४ दिन वरतिर आइसकेकाे छ। आजभाेलि आषाढ ६ गते नै (२१ जूनमा) नै सूर्यकाे दक्षिणायन आरम्भ हुन्छ। यही दिनबाट सूर्यकाे दक्षिणायन आरम्भ भएर रात बढ्ने र दिन घट्ने हुन थाल्छ। यसै दिन सौरमानले वर्षा ऋतु पनि लाग्छ। यसै कारण नै आजभोलि श्रावणबाट वर्षा लाग्ने नभई आषाढबाट नै वर्षा ऋतु लागेको हो र यो सबैले देखेजानेको र अनुभव गरेकै कुरा हो। पहिले श्रावणबाट मात्र वर्षा लाग्थ्यो। यो कुरा बुझ्न आवश्यक छ। मध्याह्नकाे छाया नापेर हेर्दा याे कुरा सिद्ध पनि हुञ्छ।
अबको ३०० वर्ष जतिमा आषाढ १ बाट दक्षिणायन र पौष १ बाट उत्तरायण हुञ्छ ।
त्यसैले कर्कट-सङ्क्रान्तिलाइ दक्षिणायन आरम्भ भन्नु सही हाेइन। त्यसाे भन्न अब छाेड्नु पर्छ । प्राध्यापक, शिक्षक, पञ्चाङ्गकार, पत्रकार, समाचारदाता, शैलीपुस्तकलेखकहरू सबैले याे कुरामा ध्यान दिन आवश्यक छ। कर्कट-सङ्क्रान्तिलाई चिनाउन कर्कटसङ्क्रान्तिका दिन "आजबाट सूर्य दक्षिणायन भई दिन घट्न थाल्छ" भन्ने गलत सूचना प्रवाह नगर्न सचेत पनि हुनु पर्छ ।
आकाशमा तारासमूहबाट बनेका मेष, वृष आदि नाम गरिएका १२ वटा राशिहरु हुन्छन्। सूर्य हरेक महिना एक राशिबाट अर्को राशिमा सर्दै गएको देखिन्छ। जब सूर्य तारात्मक कर्कट-राशिमा प्रवेश अथवा सङ्क्रमण गर्दछन्, त्यसलाई कर्कट-सङ्क्रान्ति भन्दछन्। तर त्यस दिनबाट दक्षिणायन हुने र दिन घट्न थाल्ने चाहिँ हाेइन। ( स्रोत: प्रमोदवर्धन कौण्डिन्न्यायनको फेसबुक)