साउने सङ्क्रान्ति मनाउँदै सूर्य दक्षिणायन भएको भनिएपनि वास्तवमै सूर्य दक्षिणतर्फ लागेको २६ दिनअघि अर्थात् जुन महिनाको २१ तारिख भएको वेदाङ्ग ज्योतिषका अनुयायीले बताएका छन् । पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको पात्रोमा साउन १ गते सूर्य कर्कट राशिमा प्रवेश गरेको मानिएको छ । वेदाङ्ग ज्योतिषीहरुले भने सबभन्दा लामो दिन जुन २१ (असार ७ गते) नै दक्षिणायन आरम्भ भै दिन छोटो र रात लामो हुन शुरु भएको स्वाध्यायशालाका अध्येता प्रमोदवर्धन कौण्डिन्न्यायनले बताएका छन् ।
सूर्यको गतिको आधारमा समय णना गर्दा विगत १५ सय वर्षको अवधिमा साउन १ गतेको संक्रान्ति २४ दिन वर सरेर असारमा आइसकेको उनको दावी छ । यस वर्ष ३२दिनको महिना पर्दा यो २६ दिन वर सरेको छ । सिद्धान्तज्योतिषी जयन्त आचार्य लगायत एकथरि विद्वानले सूर्यको गति फेरिइसकेकोले सोही गतिका आधारमा काल गणओना गर्नु पर्ने आवाज उठाउँदै आएका छन् । तर भारतका सनातनीहरुले पञ्चाङ्गमा सुधार नगरेकोले नेपालमा पनि फेरिन सकेको छैन ।
समय र पर्व सुधारका लागि सिद्धान्त ज्योतिषीहरुले अधिकमास परेको वर्षको अधिक महिना पारेर उक्त समय कटाई पर्व समय सुधार गर्न प्रस्ताव गर्दै आएका छन् । यसो गर्न सकिएमा भारतभन्दा पहिले पर्व सुधारेर देखाउन सकिने उनीहरुको दावी छ । तर सनातनी र फलित ज्योतिषीहरु त्यो प्रस्तावको विपक्षमा छन् ।
सूर्यको गति र अवस्थिति फेरिइसकेको अवस्थामा ग्रह र नक्षत्रको अवस्थिति पनि फेरिने भएकोले हालको साइत र शुभमुहूर्तहरु फलदायी नहुने जिकीर सिद्धान्तज्योतिषीहरुको छ । त्यसैले उनीहरुले सामान्यतया २४ दिनअघि नै चाडपर्व मनाउँदै आएका छन् । यस वर्षको जनै पूर्णिमा उनीहरुले असारमै मनाइसकेका छन् जबकि सरकारी मान्यता प्राप्त पात्रोमा यस वर्षको जनै पूर्णिमा साउन २७ गते लेखिसएको छ ।
भूमध्य रेखा सरिसकेकोले अयन र ऋतु पनि सरेको चित्र प्रमोदवर्धन कौण्डिन्न्यायनले फेसबुकमा राखेका छन् । उनका पिता शिवराज आचार्यले "वेदाङ्गज्योतिषम्" नामक ग्रन्थ लेखेका छन् जसमा लिच्छविकालसम्म सोही कालगणना पद्धति नेपालमा प्रचलनमा रहेको भनेका छन् । "अबको ३०० वर्ष जतिमा आषाढ १ बाट दक्षिणायन र पौष १ बाट उत्तरायण हुञ्छ", प्रमोदवर्धनले लेखेका छन् ।
हालको साउन १ लाई सूर्य दक्षिणायन प्रारम्भ हुने भनेर प्रचार नगर्न पत्रकारहरुलाई सतर्क गराउँदै आएका छन् । उनले सचेतनाका लागि जारी गरेको सन्देश यस्तो छ-
कर्कट-सङ्क्रान्तिलाइ दक्षिणायन आरम्भ भन्नु सही हाेइन। त्यसाे भन्न अब छाेड्नु पर्छ । प्राध्यापक, शिक्षक, पञ्चाङ्गकार, पत्रकार, समाचारदाता, शैलीपुस्तकलेखकहरू सबैले याे कुरामा ध्यान दिन आवश्यक छ। कर्कट-सङ्क्रान्तिलाई चिनाउन कर्कटसङ्क्रान्तिका दिन "आजबाट सूर्य दक्षिणायन भई दिन घट्न थाल्छ" भन्ने गलत सूचना प्रवाह नगर्न सचेत पनि हुनु पर्छ ।
आकाशमा तारासमूहबाट बनेका मेष, वृष आदि नाम गरिएका १२ वटा राशिहरु हुन्छन्। सूर्य हरेक महिना एक राशिबाट अर्को राशिमा सर्दै गएको देखिन्छ। जब सूर्य तारात्मक कर्कट-राशिमा प्रवेश अथवा सङ्क्रमण गर्दछन्, त्यसलाई कर्कट-सङ्क्रान्ति भन्दछन्। तर त्यस दिनबाट दक्षिणायन हुने र दिन घट्न थाल्ने चाहिँ हाेइन।
(कौण्डिन्न्यायनको तर्क र दावी विचार स्तम्भमा हेर्नुहोस ।)