नेपाल टेलिकमले आफ्ना सेवाको भाउ घटाएको छ । सेवाहरुको महसुलमा २०७९ साउन १ गतेदेखि नयाँ दर लागू गर्दै भाउ घटाउने र सेवा बढाउने निर्णय भएको टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले जनाएका हुन् । त्यस क्रममा नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई साउन १ देखि १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको लोहियाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
अब टेलिकमाका प्याकेज बाहेकको साधारण महसुल दर (Pay as You Go) अन्तर्गतका भ्वाइस र डेटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायत सेवाको महसुलमा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ ।
यसैगरी साउन १ देखि समर अफर (Summer Offer) अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डेटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् भनी प्रेस विज्ञप्तिमा उल्लख गरिएको छ ।
सो अनुसार टेलिकमाका केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । जस्तै: सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।
समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । साथै ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाइएको छ । त्यसो त टेलिकमको वेबसाइट www.ntc.net.np मार्फत पनि विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने सहप्रवक्ता लोहियाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।