क्रिप्टो करेन्सी कारोबारका नाममा १ सय ७५ वटा देशका लाखौं मानिसको अर्बौं डलर ठगेको अभियोगमा अमेरिकाको सङ्घीय जाँच ब्युरो (एफबीआई) ले रुजा इग्नाटोभालाई सर्वाधिक खोजीका १० जनाको सूचीमा राखेको छ । रुजालाई पक्राउ गर्न सूचना दिनेलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि एफबीआईले गरेको छ ।
बुल्गेरियामा जन्मिएर जर्मनीको नागरिकता लिएकी रुजाले सन् २०१४ देखि 'वान् क्विन' नामक क्रिप्टो मुद्रालाई पिरामिड कारोबारमा ल्याउँदै त्यसलाई 'बिट क्विन' बनाउने भनेर ठगेकी हुन् । 'वान क्विन' हाल अस्तित्वमा छैन । तीन वर्ष नपुग्दै रुजाले धेरै देशक लगानीकर्ताको ४ अर्ब १० करोड डलर ठगेको अभियोग एफबीआईले न्यूयोर्क अदालतमा दायर गरेको छ ।
अर्बौं डलर ठगेपछि सन् २०१७ देखि उनी देखिएकी छैनन्, एफबीआईका अधिकारीले पत्रकार सम्मेलनमा भने । उनले बेलायतमा ठूलो अपार्टमेण्ट खरिद गरेको सूचना अनुसन्धानकर्ताले फेला पारेका छन् । त्यसपछि रुजा कहाँ छन् भन्ने पत्ता लगाउन नसकिएकोले पुरस्कार घोषणा र दस 'मोष्ट वाण्टेड' सूचीमा राखिएको अमेरिकी भनाइ छ ।
रुजाले अनुहारमा प्लाष्टिक सर्जरी गरेर अनुहार बदल्दै हिँडडुल गरेको अनुमान एफबीआईको छ । उनीविरुद्ध कीर्ते, जालसाजी, वायर ठगी, सुरक्षण ठगी र मुद्दा शुद्धीकरण सम्बन्धी अभियोग लगाइएको छ ।
वान् क्विनका सहसंस्थापक, कानूनी सल्लाहकार र उनका भाइ समेत सन् २०१९ मा पक्राउ परी बैंक ठगीको अभियोग ठहर भैसकेको छ । उनका भाइले समेत उनीविरुद्ध प्रमाण पेश गरेको एफबीआईले बताएको छ ।
४२ वर्षीया रुजाले अन्तर्राष्ट्रिय कानूनमा पीएचडी गरेकी हुन् । उनले अनुहारको प्लाष्टिक सर्जरी गरी बिलासी जीवनमा विभिन्न देशमा घुमफिर गररहेको सूचना जर्मन अनुसन्धानकर्ताले दिएको एफबीआई अधिकारीको भनाइ छ ।
१ सय ७५ देशमध्ये नेपाली क्रिप्टो कारोबारी परेको वा नपरेको भन्ने केही पत्ता लाग्न सकेको छैन ।