तीन शताब्दीदेखि शिक्षाको ज्योति छरी रहेको गुरुकुल आफ्नो ढलेको मुहार फेर्दैछ । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित ३०४ वर्ष पुरानो गुरुकुलबारे चौतर्फी चासो बढेपछि भग्नावशेष बनेको भवन अहिले जीर्णेद्धार पाएर तङ्रिन थालेको हो । विसं १७७५ मा स्थापित यो गुरुकुलले अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नाउँ पाएको छ ।
गत वर्षको बर्खे भेलले ढलेको विद्यालयको छात्रावास भवन गत मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नु भएपछि यसबारे चौतर्फी चासो बढेको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन् । राष्ट्रपतिको भ्रमणलगत्तैदेखि विभिन्न निकायले गुरुकुलबारे चासो बढाएका उनको ठम्याइ छ ।
मधेस प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको सहयोगमा अहिले गुरुकुलको छात्रावास भवनको पुरानो संरचनाको मर्मतसम्भार थालिएको छ । मन्त्रालयबाट विनियोजित रु ५० लाख बजेटबाट अहिले बर्खेभेलले ढलेको छात्रावास भवनको जीर्णोद्धार कार्यमा दिनरात नभनी २५ भन्दा बढी कामदार निरन्तर जुटेका छन् । करिब १०० वर्षअघि निर्मित गत वर्षको भेलमा मक्किएर ढलेको छात्रावास भवनलाई पुरानै ढाँचामा मर्मतसम्भार गरिँदै छ ।
“अब गुरुकुल नयाँ रङरोगनका साथ आफ्नो पुरानोरुपमा फर्कने आश जाग्यो”, प्रअ पौडेल भन्छन्, “गत मङ्सिरमा महामहिम राष्ट्रपतिज्यूको गुरुकुल परिसरमा अवलोकन भ्रमण भएदेखि नै सहयोगी हात थपिएका छन् ।” यस वर्ष (आव २०७८÷०७९) ढलेको छात्रावास भवनको मर्मतसम्भारको जीर्णोद्धार कार्यलाई रु ५० लाख बजेट विनियोजन गरेको मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई करोड विनियोजन गरेको जानकारीले विद्यालय परिवार हर्षित भएको पौडेल बताउँछन् ।
मुलुककै जेठो गुरुकुललाई संस्कृत वाङ्मयको अध्ययन÷ अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्र बनाइने गरी काम अघि बढाइने मधेस प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख भएको छ । यसबाहेक यसैपालि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गुरुकुलले चारकोठे नयाँ पक्की भवन पाएको छ । यसअन्तर्गत रु ३६ लाखको लागतमा भवन निर्माणको काम थालिएको प्रअ पौडेलले जानकारी दिए । यसैगरी प्रदेश सरकारकै सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा समन्वय एकाइको रु २० लाखको सहयोगमा यहाँ सभाहल पनि निर्माण गरिएको छ ।
“राष्ट्रपतिज्यूको भ्रमणयता गुरुकुलबारे आमरुपमै चासो बढ्यो, गत मङ्सिरको राष्ट्रपतिज्यूको मटिहानी भ्रमणयता विशिष्ट व्यक्तित्वको उपस्थिति हामीले पाएका छौँ”, उनी भन्छन्, “यही चौतर्फी चासोले गुरुकुल मुहार फेर्दैछ ।” अन्य नयाँ भवनका डिजाइन नयाँ बने पनि छात्रावास भवनकोे पुरानै शैलीमा जिर्णोद्धार कार्य गरिएको उनको भनाइ छ ।
दैनिक बटुकबाट रुद्राभिषेक हुने गुरुकुलमा अहिले कक्षा ८ देखि १२ सम्मका १५० नियमित छात्रछात्रा छन् । सबै जातजाति र समुदायका लागि गुरुकुल खुला रहेको प्रअ पौडेल बताउँछन् । “हाम्रो गुरुकुलमा हिन्दू परम्पराका विभिन्न जातजाति समुदायका मात्र हैन, इस्लाम धर्म परम्पराका छात्र पनि छन्”, उनले भने ।
रामायणकालीन जनश्रुतिअनुसार रामसीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ मानिने मटिहानीको आधुनिक विकासमा भने दुई सन्तहरु तश्मैयाबाबा र पिरबाबाको सपना र लगनले काम गरेको यहाँका बासिन्दा बताउँछन् । तश्मैयाबाबा हिन्दू सन्त र पिरबाबा इस्लाम परम्पराका सुफी सन्त थिए । ती दुवै सन्तको आशिर्वादले आफ्नो ठाउँमा धार्मिक र सामाजिक सद्भाव कहिल्यै नबिग्रेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।
शिक्षाप्रेमी सन्त तस्मैया बाबाको प्रेरणा पाएका उनकै शिष्य जयकृष्ण दासले विसं १७७५ मा मटिहानीमा गुरुकुलको स्थापना गर्नुभएको विश्वास गरिन्छ । सिद्ध सन्तको स्नेह र उनीहरुको कर्मस्थल मटिहानीस्थित गुरुकुलबारे अब राज्यका विभिन्न निकायबाट चासो जागेपछि यसले मुलुककै शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने नगरप्रमुख मण्डलको विश्वास छ ।