हाल प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति वर्षा मापन भएको छ ।
आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।
दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमाअधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अधिक वर्षाको आकलन गरिएको छ ।
सोमबार गण्डकी प्रदेशका एक(दुई स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको छ। आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आकलन गरिएको छ ।