स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ-२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्न लागेको हो । यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो ।
दुवै खोपको परीक्षण दुई हप्ताभित्र सुरु गरिने परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । कोभ–२ विरुद्धको ‘एमआरएनए’ परीक्षण देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र हैजाविरुद्धको ‘कोलेरा’ को परीक्षण बीपीसहित, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा गरिने उनले जानकारी दिए ।
चीनको वालभ्याक्स कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘एमआरएनए’ खोपको पहिलो र दोस्रो चरणको परीक्षण सफल भैसकेपछि नेपालमा तेस्रो चरणको परीक्षण गर्न लागिएको हो । उक्त कम्पनीले कुल २८ हजार जनामा परीक्षण गर्न लागेकोमा नेपालमा ३ हजार जनामा परीक्षण गरिने उनले जानकारी दिए । सोही अनुसार तेस्रो क्लिनिकल ट्रायल बीपी प्रतिष्ठान धरान हुनेछ ।
कुनै पनि खोप बनाएपछि पहिला प्रयोगशालामा र त्यसपछि जनावरमा परीक्षण गरेपछि मात्रै मानिसमा परीक्षण गरिन्छ। मानिसमा पहिलो र दोस्रो चरणको परीक्षण गर्दा थोरै सङ्ख्यामा गरिन्छ । “खोप परीक्षण गर्दा धेरैमा कति सुरक्षित छ भन्ने हेरिन्छ,” कार्यकारी निर्देशक डा ज्ञवालीले भने, “तेस्रो चरणको परीक्षणमा धेरै सुरक्षित देखिए मात्र खोप लगाउन अनुमति दिइन्छ ।”
परीक्षणका क्रममा खोपको सुरक्षा, प्रभावकारिता र कुन उमेर समूहका व्यक्तिलाई बढी प्रभावकारी हुन्छ भनेर पनि अध्ययन गरिन्छ । परीक्षण गर्दा कुनै व्यक्तिमा कुुनै समस्या परे त्यसको सम्पूर्ण जिम्मा खोप उत्पादक कम्पनीले लिने पनि उनले जानकारी दिए । “परीक्षणका क्रममा खोप दिएकाहरुमा कुनै पनि असर देखिए उत्पादन कम्पनीले नै सम्पूर्ण जिम्मा लिने गरिन्छ,” उनले भने, “कसैलाई जबर्जस्ती वा गुपचुप कसैलाई पनि खोप परीक्षण गरिँदैन ।”
परिषद्ले सुनसरी जिल्लाका स्थानीयमा परीक्षण गर्ने जनाएको छ । अहिले नेपालमा प्रयोग गरिएका खोप कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनिका खोप बाहिरी मुलुकमा नै परीक्षण गरिएका हुन् । नेपालमा परीक्षण गर्दा नेपालीको वंशाणुगत गुणअनुसार कति प्रभावकारी हुन्छ भन्ने थाहा हुने परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले बताए । साथै नेपालमा परीक्षण भएपछि कम्पनीले नेपाललाई सहुलियतमा प्राथमिकताका साथ खोप उपलब्ध गराउने सहमति पनि भएको उनले जानकारी दिए।
‘एमआरएनए’ खोप परीक्षणका लागि चीनबाट खोप आइसकेको छैन । उत्पादक कम्पनीले आपत्कालीन प्रयोगका लागि परीक्षण गर्न औषधि व्यवस्था विभागसँग अनुमति पनि मागिनसकेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताएका छन्। उनका अनुसार अहिलेसम्म विभागले कोभिड-१९ आपत्कालीन प्रयोगका लागि भारतबाट उत्पादिक खोप कोभिसिल्ड र कोभ्याक्सिन, चीनबाट सिनोफार्मको कम्पनीको भेरोसेल र सिनोभ्याक्स, रसियन कम्पनी स्पुतनिक ‘भी’र अमेरिकन खोप जोन्सन एन्ड जोन्सनलाई अनुमति प्रदान गरेको छ । नेपालमा अहिलेसम्म एक करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।
यसैगरी हैजाविरुद्धको खोप ‘कोलेरा’ को परीक्षण १ देखि ४० वर्ष उमेर समूहका करिब दुई हजार पाँच सय व्यक्तिमा गरिने परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेले जानकारी दिइन् । हैजाविरुद्धको खोप कोरियन उत्पादक कम्पनीको सहयोगमा परीक्षण गरिन लागेको हो । कोलेरा खोप दुई हप्ताको बीचमा दुईपटक लगाउनुपर्ने हुन्छ । (रासस)