प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको मेयर भएकोमा बधाई दिएका छन् ।
त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका छन् ।
प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उनले भने ।
'शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,' बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने । काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए ।
शाहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । निर्वाचित घोषणा हुन अघि उनी बालकोट पुगेका थिए ।