बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयाघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पार्श्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए ।
कलकत्ता कन्सर्टको मध्यान्तरमा उनले आफूलाई असजिलो भएको भन्दै छाती छामेका थिए । तर मध्यान्तरपछि पनि गाउन छोडेनन् । कन्सर्ट सकिनासाथ उनी ढल्न पुगे । त्यसपछि उनलाई कलकत्ताकै पाँच तारे अस्पताल पुर्याइएको थियो । तर अस्पताल नपुग्दै उनको मृत्यु भैसकेको इण्डियन एक्सप्रेस ले जनाएको छ ।
उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’ नामको गीत गाएका थिए । म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका उनले त्यसपछि मात्र बलिउडमा पाइला चाले ।
हिन्दीसहित उनले तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली, असमिया, गुजराती र हिन्दी भाषाका गीत छन् । झण्डै ७ सय बढी गीत गाएका उनी सन् २००० को दशकमा भारतका सर्वाधिक सफल गायक हुन् ।
उनका लोकप्रिय गीतमा ‘तडप तडप के इस दिल से’, तमिल गीत ‘अपाडी पोडु’, ‘डोला रे डोला’, ‘क्या मुझे प्यार हे’, ‘वो लम्हे’, ‘आँखो मे तेरी’, ‘बचना ए हसिनो’, ‘खुदा जाने’, ‘पिया आए ना’, ‘मर्डर ३’ को ‘मत आजमा रे’, ‘इण्डिया वाले’ र ‘तु जो मिला’ जस्ता गीत लोकप्रिय छन् ।