बीबीसी नेपाली सेवाले बिहानी रेडियो प्रसारण बन्द गरेको छ । बेलुकीको प्रसारण पनि आधा घण्टाको प्रसारण अवधि घटाएर १५ मिनेट मात्र गर्ने भएको छ । आजदेखि उसले प्रसारण घटाउन शुरु गरेको हो । बिहानीपख नामले प्रसारण हुने १५ मिनेटको कार्यक्रम आज बिहान प्रसारण भएन । बेलुकी पनि सोमबारदेखि शुक्रबारसम्म १५ मिनेट मात्रै प्रसारण गर्ने काम आजै बेलुकादेखि शुरु गरिने बीबीसी नेपालीले जनाएको छ । उसले केही दिनदेखि यो सूचना बजाउँदै आएको थियो ।
बेलायतमा कन्जरभेटिभ पार्टीले सन् २००५ को निर्वाचन जितेदेखि नै खर्च कटौतीका काम गर्दै आएको थियो । सोही क्रममा बीबीसीमा गरेको लगानी कटौती गर्दै आएको थियो । शर्ट वेब सेवा केही वर्षअघि देखि नै बन्द छ । बेलायती विदेश मन्त्रालयको बजेटबाट बीबीसी सञ्चालन हुने गर्छ । बेलायती मूल्यमान्यता विश्वभर फैलाउने माध्यमका रुपमा बीबीसी परिचित छ ।
खर्च कटौती अन्तर्गत हिन्दी भाषाको बीबीसी रेडियो पनि बन्द भैसकेको छ । त्यो अब अनलाइन पोर्टलका रुपमा मात्रै छ । खर्च कटौती भएकै कारण रवीन्द्र मिश्रले लण्डनको महँगो खर्च घटाउन सस्तो लागतमा काठमाडौंबाट प्रसारण शुरु गराएका थिए । हप्तामा सातै दिन बिहान र बेलुका प्रसारण हुने गरेकोमा केही समयअघिदेखि यसको प्रसारण बिहान पनि बेलुका पनि सोमबारदेखि शुक्रबारसम्म प्रसारण हुने गरेको थियो ।
केही वर्षअघि शर्ट वेब बन्द गरिएपछि एफएम ब्याण्डमा मात्रै यसको रेडियो प्रसारण आउने गरेको छ । बीबीसी वर्ल्ड सर्भिसले रेडियो नेपालको १०० मेगाहर्जमा एफएम फ्रिक्वेन्सी भाडामा लिएर काठमाडौं उपत्यकामा बेलायतबाटै अंग्रेजी भाषाको कार्यक्रम प्रसारण गर्दै आएको छ । सोही फ्रिक्वेन्सीमा नेपाली सेवाको समयमा नेपाली प्रसारण नै आउने गरेको छ । साथै नेपालका करीब ३ सय वटा रेडियोले बीबीसी नेपाली सेवाको प्रसारण 'हूक' गर्ने गरेका छन् ।
नेपालका ती एफएम रेडियोहरुले आफ्नो कार्यक्रम उत्पादन गर्न लगानी गर्नु नपर्ने र बीबीसी नेपाली प्रसारण शुरु हुनुअघि अगाडिको समयमा विज्ञापन प्रसारण गरेर आम्दानी पनि गर्न सक्ने अवस्था छ । उक्त बिहानी सेवा बन्द गरिएपछि ती रेडियोहरुमा गीतसंगीतले ठाउँ पाउन थालेका छन् । धेरै रेडियोमा गीत बज्दा समाचारका स्रोताहरु समाचार र समाचारमूलक कार्कक्रम तथा अन्तर्वार्ता प्रसारण गरिने अन्य स्टेशनहरु 'ट्युन' गर्न पुग्नेछन् । बीबीसी नेपाली सेवा बन्द हुँदा मौलिक समाचारमूलक कार्यक्रम उत्पादन गर्ने रेडियोहरुका स्रोता बढ्नेछन् ।
बिहानी रेडियो कार्यक्रम बन्द गरिएपनि १५ मिनेटको कार्यक्रम हप्तामा पाँच दिन प्रसारण भैरहने र अनलाइन पोर्टल सञ्चालन भैरहने बीबीसी नेपाली सेवाले जनाएको छ ।