युक्रेनका राष्ट्रपतिसंग सीधा र प्रत्यक्ष कुराकानी गर्न जर्मनी र फ्रान्सका नेताहरूले रसियाली राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
रसिया युक्रेन द्वन्द्व समाधानकालागि रसियाली सेना फिर्ता लैजान र युद्धविरामको घोषणा गर्न पनि दुबै नेताले आग्रह गरेका छन् ।
जर्मनीका चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले रसियाली राष्ट्रपति भ्लादिमीर पुटीनसंग करिब ८० मिनट वार्ता गर्नुभएको थियो ।
त्यस बखत रसियाली राष्ट्रपतिले युक्रेनसंग वार्ता शुरू गर्न तयार रहेको बताएपनि युक्रेनी राष्ट्रपतिसंगको वार्ताको समय भने तय नभएको बताइएको छ ।
यस अघी युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रसियासंग वार्ता गर्न इच्छुक रहेपनि रसियाले पहिले द्वन्द्व रोक्नुपर्ने बताउनुभएको थियो ।
द्वन्द्व शुरू भए यता दबै मुलुकका प्रतिनिधिबिच पटक पटक प्रत्यक्ष तथा टेलफोनमा वार्ता भने भैसकेको छ ।
रसियाले कब्जामा लिएको २५०० सैनिकलाई युद्धबन्दीका रूपमा आफुलाई हस्तान्तरण गर्नुपर्ने माग पनि युक्रेनले गर्दै आएको छ ।
युरोपेली नेताहरूले रसियाली राष्ट्रपतिलाई युक्रेनको बन्दरगाह शहर ओडिसीबाट खाद्यान्न निर्यातलाई खुला गर्न पनि आग्रह गर्नुभएको थियो ।
जवाफमा रसियाली राष्ट्रपति पुटिनले आफुमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गर्नुभएको थियो ।
साथै युक्रेनलाई अत्याधुनिक हतियार आपूर्ति गर्दा अस्थिरता थप बढ्न सक्ने चेतावनी पनि रसियाले दिएको छ । रसियाले युक्रेनमाथि गरेको सैनिक आक्रमणका कारण २५ हजार किलोमिटर सडक, सयौं पुल र १२ वटा विमानस्थल पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
यसैगरि १०० वटा शिक्षण संस्था, ५०० भन्दा बढी अस्पताल लगायतका स्वास्थ्य संस्था र २०० भन्दा बढी ठुला कारखानाहरू समेत क्षतिग्रस्त भएका छन् ।
युक्रेनी प्रधानमन्त्री डेनिस श्यामलले रसियाको रोकिएको सम्पत्ति युक्रेनको पूर्वाधार निर्माणमा लगाउन युक्रेनलाइ दिनुपर्ने माग गर्नुभएको छ ।।