नेपाली संगीत बजारमा गायिका विष्णु माझीको छुट्टै स्थान छ । कला र गलाकै कारण उनको गायन मन पराउने लाखौं स्रोता छन् । पछिल्लो समय विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ सर्वाधिक चर्चामा छ । नेपाली महिलाहरूको पर्व तीजको मर्म बोकेको गीतलाई सार्वजनिक भएको दुई हप्ता पुग्दानपुग्दै १ करोड १ लाख ५० हजारभन्दा बढी दर्शकले हेरका छन्।
करोड बढी भ्युज पाउने गायिका माझीको यो नै पहिलो गीत भने होइन । यस अघिका थुप्रै गीतहरूमा करोड बढी दर्शक स्रोताको माया उनले पाइसकेकि छिन् । उनका दर्जनौं गीत स्रोता-दर्शकले मनपराएका छन् । एकपछि अर्को गीत स्रोता एवं दर्शकको मन–मनमा बसेका छन् ।
गायिका माझी र कुलेन्द्र विश्वकर्माको स्वर रहेको ‘सालको पात टपरी’ बोलको गीत तीन वर्ष अगाडि सार्वजनिक भएको थियो । नवराज पन्तको शब्द, वसन्त थापाको संगीत रहेको यो गीतमा आशिष अविरलको संगीत संयोजन छ । शिव बि.क.को निर्देशनमा बनेको यस गीतको भिडियोलाई यो समाचार तयार पारुन्जेलसम्ममा युट्युबमा ७ करोड १९ लाखभन्दा बढी पटक हेरिएको छ । गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल, गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापाको अभिनय छ । यो गीत नेपाली लोकदोहोरीको ईतिहासमा सर्वाधिक हेरिएको गीत हो । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
यस्तै गायिका विष्णु माझीको लालुमै बोलका गीत पनि करोड बढीले हरेका छन्। । शिव हमालको शब्द, संगीत र आशिष अविरलको संगीत संयोजन रहेको गीतमा विष्णु र सन्दीप न्यौपानेको स्वर छ । दुई वर्ष अगाडि सार्वजनिक गीतको भिडियोलाई अहिलेसम्म युट्युबमा ३ करोड ५१ लाख ८५ हजारभन्दा बढी पटक हेरिएको छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा सन्दीप न्यौपाने र सृष्टि खड्काको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।
यसैगरि, विष्णु माझी र बसन्त थापाको स्वर रहेको ‘बोकेझार’ शीर्षकको गीत पनि युट्युबमा १ करोड २८ लाखभन्दा बढी पटक हेरिएको छ । प्रल्हाद सुवेदीको शब्द, बसन्त थापाको संगीत, कृष्ण बि.के भान्जाको संगीत संयोजन रहेको यो गीत दुई वर्ष अगाडि सार्वजनिक भएको हो ।
विष्णु माझी र पीताम्बर जि.सी.को स्वर रहेको गीत ‘छिप–छिपे पानीमा लेउ’लाई पनि दर्शक स्रोताले युट्युबमा १ करोड १० लाखभन्दा बढी पटक हेरेका छन्। गीतमा एकनारायण भण्डारीको शब्द, संगीत छ भने आशिष अविरलको संगीत संयोजन छ ।
यसैगरि गायिका माझी र तेजश रेग्मीको स्वरमा दुई वर्ष अगाडि सार्वजनिक ‘पिँडालु’ शीर्षकको गीत पनि दर्शक स्रोतामाझ उत्तिकै प्रिय बनेको छ। तेजशकै शब्द र संगीतमा रहेको गीतमा आशिष अविरलको एरेन्ज छ । यस गीतको भिडियोलाई युट्युबमा १ करोड ७ लाखभन्दा बढी पटक हेरिएको छ।