बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने बताएका हुन् । पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्रियामा बोल्दै उनले अत्यावश्यक ठाउँमा सडक खन्न परे सम्बन्धित वडाको सिफारिस र कार्यपालिका बैठकको निर्णय चाहिने उल्लेख गरे ।
“भएका सडकलाई स्तरोन्नति गरिन्छ, बाह्रैमास चल्ने बनाइन्छ”, उनले भने, “डोजर मालिक आफैँ अपरेटर बन्ने, आफैँ इञ्जीनियर बन्ने प्रवृत्तिको अब अन्त्य गर्नुपर्छ ।” उनले सडक पुर्याउन आवश्यक देखिएका ठाउँमा नगरपालिकाका इञ्जीनियरबाट प्राविधिक नापजाँच गरेर मात्र काम अघि बढाइने बताए । नगरप्रमुख श्रेष्ठले मनलागीरूपमा जहाँ पायो त्यहीँ सडक खन्ने कुरालाई कडाइका साथ रोकिने प्रतिबद्धता जनाए ।
“अबको कार्यपालिकाबाट बैठकले यस विषयमा निर्णय नै गर्छ”, उनले भने । जथाभावी सडक खन्दा भूस्खलन बढ्ने, प्राकृतिक प्रकोप निम्तने र गाउँठाउँको सौन्दर्य पनि नासिने भएकाले कडाइ गर्न लागिएको हो । नगरप्रमुख श्रेष्ठले वर्षायाममा बाढीपहिराका कारण हुनसक्ने सडक अवरोधलाई दृष्टिगत गरी उपकरण र जनशक्तिलाई तयारी हालतमा राखिने बताए । यस्तै ग्रामीण भेगको सडकको सफाइ र मर्मतसुधारको कामलाई पनि तत्कालै अघि बढाइने उनले उल्लेख गरे ।
पत्रकारहरूले नगर क्षेत्रका जल्दाबल्दा समस्याबारे नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए । अस्तव्यस्त ट्राफिक, ढल निकास, खानेपानी, सडक, फोहर व्यस्थापन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रका समस्या समाधानमा नगरपालिकाले पहल गर्नुपर्नेमा जोड दिइएको थियो । नगरप्रमुख श्रेष्ठले पद बहालीपछिको पहिलो निर्णय एक वर्षभित्रैमा बागलुङलाई बालमैत्री नगर बनाउने घोषणा गरेका थिए । विकास र सुशासनमार्फत पाँच वर्षभित्रमा समुन्नत नगरको आधार खडा गरिने उनको भनाइ छ ।