बिगत २२ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक काँग्रेसले आफ्नो विरासत फर्काएको छ ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका खेलराज पाण्डे विजयी बन्दा उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालले चुनाव जितेकी छन् ।
यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जितेका हुन् ।
पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे । पाण्डेले ३० हजार १३० मत प्राप्त गरे भने एमाले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याए ।
त्यस्तै उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एसका चिनबहादुर गुरुङले १६ हजार ९८० मत ल्याए ।
पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले निकै खुम्चिएको छ । बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।