गत साता बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सिसी क्यामरा फुटेज, मोबाइल ट्रेक र आधारकार्डलगायतको मद्दतले घटना भएको १३औं दिनमा सफलता पाएको हो । वैशाख १३ गते बुटवलको विपीचोक स्थित गुल्मेलस् मजुवा सुनचाँदी पसलबाट लकर काटेर सुन चोरी भएको थियो ।
व्यावसायिक चोरहरूले योजनाबद्ध तरिकाले पसल लुट्ने उद्देश्यका साथ सँगै रहेको पसल भाडामा लिएर फेन्सी पसल गर्ने भनी सर्तमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । एक वर्ष बस्ने गरी अग्रिम भाडा तीन लाख ६० हजार भुक्तानी दिएका उनीहरूलाई प्रहरीले सोमबार साँझ साढे ५ बजे लुम्बिनीको खुनगाईबाट सवारी साधना चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
भारतीय गाडीमा सवार मोहसिन अब्दुललाह, मोहद जीशन खान र मोहम्मद सरिकबाट सुनकाे सिक्का, बिस्कुट सय ग्राम ६६ मिलिग्रामसहित मोबाइल, भारु रुपैयाँ, आधार कार्ड र एटिएम कार्डसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
घटनामा पक्राउ परेका ३६ वर्षीय मोहसिन भारत जौहरी मोहल्ला चोक लखनउ, मुख्य योजनाकार ३५ वर्षीय मोहद भारत साइ एन्कलेव गोमती कालोनी लखनउ र २२ वर्षीय सरिक लखनउकै निशान्त गन्जमा बस्दै आएका थिए ।
छेउकै सटर भाडामा लिएर योजनाबद्ध तरिकाले सोमबार बिदाको दिनमा घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले १३ दिनमै उपलब्धि हासिल गरेको छ । दुई किलो ग्रामभन्दा बढी सुन चोरी भएको घटनाको थप अनुसन्धान भइरहेको छ ।