अभिनेत्री माधुरी दीक्षित नृत्यमा दख्खल राख्ने अभिनेत्रीका रूपमा चिनिन्छन् । उनले गर्ने नृत्य र त्यसमा दिने ‘एक्सप्रेसन’ दर्शकहरूले निकै मन पराउने गरेका छन्। तर यसको लागि उनले शुरुमा निकै परिश्रम गर्नुपरेको थियो।
बलिउड फिल्म ‘तेजाब’ को गीत ‘एक दो तीन चार पाँच छे सात आठ नौ... ...’ मार्फत चर्चामा आएकी माधुरी पछिल्लो समय ठूलो पर्दामा सक्रिय छैनन् । यद्यपि उनले सानो पर्दा र विभिन्न रियालिटी शो मार्फत आफूलाई दर्शकसामु प्रस्तुत गरिरहेकी छिन् ।
फिल्म रिलिज नहुन्जेलसम्म ‘तेजाब’को त्यो गीत उनी स्वयंलाई पनि विशेष लागेको थिएन । ‘सबैलाई गीत मन परेको थियो । म भने त्यो नम्बर भाको गीत किन राखेको होला भन्ने सोच्दै थिएँ,’ माधुरी सम्झन्छिन् ।
उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिनासम्म प्रशिक्षण लिनुपरेको थियो । उनलाई राम्रो नाच्न सक्छु भन्ने थियो। तर क्यामराका लागि नाच्नु अलग कुरा थियो । क्यामरा अनुसार नाच्नकै लागि उनले एक महिना प्रशिक्षण लिइन् । ‘त्यही प्राक्टिसको क्रममा मैले क्यामरासँग फ्रेन्डली हुन् सिकेँ,’ उनले भनेकीछन् ।
माधुरीको फिल्मी क्षेत्रमा प्रवेश भने विद्यालय पढ्दैगर्दा भएको हो। माइक्रोबायोलोजी अध्यन गर्ने तयारीमा रहेकी माधुरीलाई १२ कक्षा पढ्दापढ्दै ‘अबोध’ नामक फिल्म अफर भयो । उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दकी छोरी र माधुरीकी दिदी सँगै पढ्ने भएकाले गोविन्दले माधुरीबारे जनकारी पाएका थिए ।
उनी सम्झन्छिन्, ‘त्यो समयमा राजश्रीले ‘कलेज गर्ल’ पात्रको खोजी गरेको रहेछ । त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो । उहाँले एक पटक भेट्न कर गरेपछि हामी स–परिवार भेट्न पुग्यौ।’ राजश्री प्रोडक्सन माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो । फिल्ममा काम गर्ने सहमति पनि जुट्यो । तर ‘अबोध’ फिल्म सफल हुन सकेन । फिल्म माधुरीलाई चिनाउन पनि असफल नै रह्यो ।
उनलाई चिनाउने भनेको ‘तेजाब’ नै भयो। त्यो पनि तेजाबको गीत ‘एक दो तीन चार पाँच छे सात आठ नौ... ...।’ त्यसपछि भने उनको सफलताको यात्रा अघि बढ्दै गयो । एकपछि अर्को फिल्म मार्फत उनले आफूलाई सफल बनाउदै लगिन् ।