नेपाली रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ मा यतिबेला कमेडियन भरतमणि पौडेलको प्रस्तुतिको चर्चा चलिरहँदा उनको समर्थनमा भीड बढ्न थालेको छ ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले कमेडियन पौडेलको प्रतिभाले देशका सीमा छिचोल्ने बताउँदै उनको जीतका लागि अग्रिम शुभकामना दिएका छन् । शनिबार साँझ प्रसारित शोको प्रस्तुति हेरेपछि नेता भट्टराईले भरतमणिको प्रतिभाले नेपालको सीमा पार गर्ने बताएका हुन् ।
“आजको धमकेदार र बबाल प्रस्तुतिले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ् (पाथिभरा) को शिरबाट उदाएका भरतमणि पौडेल एकपछि अर्को भूगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रब्यापी बनाउन सफल भएका छन्,” योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “राम्रो अवसर पाए र आफैंले अझ मिहिनेत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ ।”
शनिबार साँझ भरतमणिले पूर्व युवराज पारस शाहको नक्कल गरेर प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिका कारण भरतमणि पफर्मर अफ द राउन्ड हुँदै प्रतियोगितामा पहिलो फाइनिल्स्ट बनेका छन् ।
ताप्लेजुङका प्रतिस्पर्धी भरतमणिलाई यसअघिबाटै भट्टराईले सहयोग गर्दै आएका छन् ।
योगेशको पहलमा यसअघि नै भरतमणिलाई ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरिसकिएको छ । योगेशको संयोजनमा उनले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको छ ।
उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ ।