मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले हाल नेपालमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम स्तरको वर्षा भईरहेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आउँदो मङ्गलबारसम्म देशका धेरै ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै सबै प्रदेशका कुनै कुनै ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना पनि रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन सूचित गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै महाशाखाले आजदेखि सोमबार रातिसम्म नै देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। मङ्गलबार पनि देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तर वर्षा भने केहि स्थानमा मात्रै हुने भनिएको छ।
यी तीनै दिन सबै प्रदेशका कुनै न कुनै ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना औंल्याइएको छ ।
आज दिउँसो प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा र राति प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।
भोलि सोमबार दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश र भोलि राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ ।
यसैगरी पर्सी मङ्गलबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा र राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ ।