पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजबाट काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।
स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काटठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानीय तहको फोहर सडकमा नै थियो ।
पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो ।
फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमानै फोहोर रहँदा समस्या सुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागका प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार विसं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।
“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”, “तत्काल त्यसको पनि विकल्प खोज्नुपर्छ”, राईले भनिन् । दुई वर्षको लागि भन्दै विगत १५ वर्षदेखि फोहर सिसडोलमा फोहर व्यवस्थापन भइरहेकाले उक्त स्थान पनि पूर्णरुपमा भरिएको छ । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर सिसडोल लैजाने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेन । नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ ।