नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गरेको हो । डेढ वर्षअघि बढुवा भएका विश्वराज पाेखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई नियुक्त गरिएकाे हाे ।
वरीयता क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री देउवाको दबाबमा आईजीपी नियुक्त गरिएको हो । गृह मन्त्रायले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई आईजीपीका लागि सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद् बैठकले भने सिंहलाई नियुक्त गरेको हो ।
प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ । तर जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिएको छ ।
प्रधानमन्त्री देउवाको रूची र चाहनाअनुसार नै सुदूरपश्चिम प्रदेश घर भएका सिंहलाई सिंहलाई आईजीपी नियुक्त गरेको हो । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच वरीयता क्रम अनुसार नै नियुक्त गर्न सरकारलाई सुझाव दिइएको थियो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकमा आईजीपी नियुक्तिको विषयमा छलफल भएको थियो । छलफलको क्रममा वरीयताक्रम अनुसार पोखरेललाई नै नेपाल प्रहरीको आईजीपीमा नियुक्त गर्न सुझाव दिइएको थियो । परामर्शका लागि गठबन्धनका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका थिए ।
दुई महानिरीक्षकसहित १८ वैशाख २०४९ बाट सेवा प्रवेश गरेका सबै उच्च अधिकारीले आइतबार एकैपटक अनिवार्य अवकाश पाएका छन् । गठबन्धनमा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरेललाई नै आईजीपी बनाउनुपर्ने अडान लिएका थिए ।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा सिंहलाई नै आईजीपी बनाउने अडानमा दिए । जसले गर्दा बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक बस्न ढिलाइ भएको थियो ।
दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए ।
हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका तर वैकल्पिक सूचीमा परेर २०४९ चैतमा नियुक्ति लिएका सिंहले ३० वर्षे सेवा अवधि कायमै रहे अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् ।